चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य नेपालमा सम्मानित

मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक

नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल सम्मानित भएका हुन् ।

प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गर्नुभएको हो । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोलीको नेतृत्व ‘लु सुन कल्चरल फाउण्डेसन’का अध्यक्ष एवं विश्व प्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गर्नुभएको छ ।

संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबीच सहकार्य बढ्ने बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक एवं साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यिक र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालको कला-संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकमा जोड दिनुभयो । कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।

पन्ध्र सदस्यीय चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीले पाटन दरबार स्क्वायरलगायत उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाँउहरूको भ्रमणसमेत गरेको छ । टोलीलाई शुक्रबार नै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो ।