पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे विपक्षी दलहरूले संसदमा मागे सरकारकाे जवाफ
प्रतिनिधिसभामा विपक्षी दलहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा गैरकानुनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै संसद्मा उभिएरै सरकारको प्रस्ट जवाफ माग गरेका छन् । विपक्षी दलका सांसदले पूर्वप्रधानन्यायाधीश पक्राउ गैरकानुनी र विधिको शासनविरुद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका सबै सांसद मौन बसेका थिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सोमबारको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैरकानुनी काम भएकामा चर्को विरोध गरेका हुन् । उनीहरूले जेन–जीको नाम दुरुपयोग गरेर संविधान र कानुन उल्लंघन गरी जबरालाई पक्राउ गरिएको बताएका छन् ।
सत्तारूढ रास्वपाका सांसदले भने बाढी नियन्त्रण र संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तुतिलाई लिएर प्रशंसा गरेका थिए । राष्ट्रिय सभामा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले पञ्चायतकालमा भन्दा पनि निरंकुश शासनशैली देखिएको बताएका छन् । ‘पूर्वप्रधानन्यायाधीशलाई अनाहकमा राति गएर समातियो, बिनापुर्जी । यो देशमा के भइरहेको छ ?,’ उनले भने, ‘जब मैले पत्रिका पढें, मलाई लाग्यो, के साँच्चै पञ्चायती व्यवस्था सुरु भएको हो ?’ उनले सरकारका पाइला निरंकुशतातर्फ गइरहेको र मुखको कानुनमार्फत शासन भइरहेको बताए ।



