ट्रम्प–सी वार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

मूलखबर संवाददाता
काठमाडौं

अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको केही दिनपछि यो विवरण सार्वजनिक भएको हो । गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय दुई देशबीचको तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ ।
चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन् । तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन् ।

त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ । यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन् ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ । यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन् ।

दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन् । तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन् । तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन् ।