जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय मानव अधिकार विभागले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति तथा जोखिम सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायले उपलब्ध गराउने सहयोगलाई दान वा परोपकारका रूपमा नभई जलवायु न्याय र साझा जिम्मेवारीका आधारमा अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने मुद्दा उठाउने भएको छ ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै आइतबार काठमाडौँमा ‘विश्व तापमान वृद्धिले हिमाली क्षेत्रमा पार्ने असर, नेपालमा हुने जोखिम र जलवायु न्याय’ विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रममा पार्टीको राजनीतिक नेतृत्व, विषय विज्ञ, जलवायु तथा मानव अधिकार अभियन्ता, किसान, बुद्धिजीवी, महिला, फरक क्षमता भएका व्यक्ति, अल्पसङ्ख्यक तथा आमजनसमुदायको सहभागिता रहने विभागका प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विभागले कार्यक्रममा पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मन्तव्य रहने जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी माननीय सभापति समीक्षा बास्कोटा, वरिष्ठ अधिवक्ता संविधानविद् डा चन्द्रकान्त ज्ञवाली, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती लगायतको प्रस्तुति रहनेछ ।



