युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक
अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक गरेको छ ।
सञ्जालले आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकको प्रतिनिधिसभा सदस्य प्रेम वयक, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव निर्मला अधिकारी भट्टराई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री, मानव अधिकारकर्मी चरण प्रसाईँ, मानव अधिकारकर्मी मन्दिर शर्मालगायतले सामूहिक रूपमा सार्वजनिक गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य प्रेम वयकले विस्तृत शान्ति सम्झौता भएको लामो समय भए पनि सङ्क्रमणकालीन न्यायको काम अझै पूरा हुन नसकेको उल्लेख गर्दै आफूले सयदिने सुधारको कार्यसूचीमा पनि नपरेको हुँदा प्रधानमन्त्रीसमक्ष कुरा राख्ने विश्वास दिलाउनुभयो ।
सांसद वयक आफैँ पनि द्वन्द्वपीडित हुनुहुन्छ । उहाँले पीडितको मागबमोजिक नियमावली बनाउन आफूले पहल गर्ने र संसद्मा यस विषयमा सवाललाई बलियोसँग उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोगले अपाङ्गता भएका द्वन्द्वपीडितका साथै सङ्क्रमणकालीन न्यायका लागि निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि पीडितको भावनालाई समेट्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावली बन्ने काम भइरहेको र पीडितको सल्लाह/सुझाव लिएर काम पीडितमैत्री तरिकाले काम गर्ने बताउनुभयो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव निर्मला अधिकारी भट्टराईले आयोगले पीडितहरूको भावनालाई समेटेर काम गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै केही असहमतिका विषयहरू भएमा पीडितहरूलाई प्रष्ट राख्न आग्रह गर्नुभयो ।
मानव अधिकारकर्मी चरण प्रसाईँ, मानव अधिकारकर्मी मन्दिर शर्मा, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलगायतले अपाङ्गता भएका द्वन्द्वपीडितका भोगाई समेटेर पुस्तक प्रकाशन गर्नु राम्रो काम भएको र सङ्क्रमणकालीन न्यायलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।





