युएईको आबुधावीमा मिसाइलको टुक्रा खसेर ७ जना नेपाली घाइते
युएईको राजधानी आबुधावीस्थित अजवनमा इरानी मिसाइलको टुक्रा खसेर ७ जना नेपाली घाइते भएको खबर छ । घाइतेमध्ये एकजनाको अवस्थामा गम्भीर छ ।
आबुधावी सञ्चार कार्यालयका अनुसार ६ जना नेपाली सामान्य घाइते भएका छन् भने गम्भीर अवस्थाका एकजनाको उपचार भइरहेको छ । यो घटनामा ५ जना भारतीय पनि घाइते भएको छन् । उनीहरू सबैको विवरण खुलाइएको छैन । मिसाइलको टुक्रा खसेर यसअघि युएईमा १७ नेपाली घाइते भएका थियो ।
युद्ध सुरु भएयता यूएईमा हालसम्म २०३ जना घाइते भएका छन् । तीमध्ये विभिन्न देशका नागरिक रहेका छन्, जसमा नेपालका नागरिक पनि रहेका छन् ।
नेपाली दुतावासले विस्तृत जानकारीको लागि पहल भइरहेको जनाएको छ । युएईमा ७ लाख नेपाली कार्यरत छन् । इरानले अमेरिका/इजरायलको हमलाको विरुद्ध यूएईसहित खाडीका देशहरूमा आक्रमण गरिरहेको छ ।
इरानबाट आएको मिसाइल र ड्रोनलाई निस्तेज बनाउनेक्रममा टुक्राहरू खसेर उनीहरू घाइते भएका हुन् ।
युएईको रक्षा मन्त्रालयका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक मिसाइल, ४ वटा क्रुज मिसाइल र ४७ वटा ड्रोनलाई निस्तेज बनाएको जनाएको छ । २८ फेब्रुअरीदेखि सुरु भएको युद्धयता यूएईले कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोनमा अवरोध गरिसकेको जनाएको छ ।





