माओत्सेतुङबारेको ‘अस्वीकार्य’ टिप्पणीपछि एम्बाप्पेले मागे माफी
काठमाडौं । विश्वप्रसिद्ध फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पुर्व नेता माओत्सेतुङबारे गरेको टिप्पणीलाई लिएर चीनमा चर्को विरोध भएको छ। सामाजिक सञ्जालमा उनको अन्तर्वार्ताको भिडिओ भाइरल भएपछि चिनियाँ ब्रान्डहरूले उनीसँगको व्यावसायिक साझेदारी तोड्न थालेका छन्।
सामाजिक सञ्जाल एक्स (X) मा सार्वजनिक भएको अन्तर्वार्तामा एम्बाप्पेलाई उनको मनपर्ने ‘मिम’ (Meme) बारे सोधिएको थियो। त्यस क्रममा उनले इन्टरनेटमा देखेको एउटा मिमको चर्चा गर्दै, ‘मलाई लाग्छ, उनी चिनियाँ तानाशाह थिए’ भनेको भिडिओमा सुनिन्छ। उक्त भिडिओमा चीनका पूर्वनेता माओत्सेतुङको शरीरमा एम्बाप्पेको अनुहार जोडिएको सम्पादित तस्बिरसमेत देखाइएको थियो।
एम्बाप्पेले आफ्नो जवाफमा माओत्सेतुङको नाम प्रत्यक्ष रूपमा नलिए पनि भिडिओमा देखाइएको तस्बिर र उनको टिप्पणीलाई चिनियाँ नागरिक तथा सञ्चारमाध्यमले माओप्रति लक्षित अपमानजनक अभिव्यक्तिका रूपमा लिएका छन्। विवाद बढेपछि एम्बाप्पेले आफ्नो टिप्पणीप्रति माफी मागेका छन्। यस घटनाले उनको व्यावसायिक सम्बन्धमा समेत असर पारेको छ।
चिनियाँ दुग्ध उत्पादन कम्पनी मेङनिउले मंगलबार एम्बाप्पेसँगका सबै साझेदारी तत्काल अन्त्य गर्ने घोषणा गरेको छ। कम्पनीले चिनियाँ जनताको भावनामा चोट पुर्याउने कुनै पनि शब्द वा कार्यप्रति आफ्नो शून्य सहनशीलता रहेको जनाएको छ।





