आजदेखि संसद् अधिवेशन, शिर्ष नेता बाेल्दै, कसले कति मिनेट ?
आजदेखि संसद् अधिवेशन शुरू हुँदैछ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुन लागेकाे हाे । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो ।
संसद्मा सबैभन्दा ठूलो दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बाेधन गर्ने भएका छन् । सभापतिले सम्बोधन गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनीष झाले बताए ।
अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा नेताहरुले धारणा राख्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट भने भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् ।
तेस्राे दल एमालेका तर्फबाट दलका नेता रामबहादुर थापा र नेकपाबाट नेता वर्षमान पुनले बाेल्नेछन् ।
श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, स्वतन्त्र सांसद महावीर पुनले पनि धारणा राख्नेछन् ।
कसले कति मिनेट बाेल्दै ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४० मिनेट बाेल्न पाउने भए पनि २५ मिनेट भए पुग्छ भनेकाले २५ मिनेट समय निर्धारण गरिएको छ।
कांग्रेसबाट आङ्देम्बेले बोल्ने पाएको समय ८ मिनेटमा थप २ मिनेट गरेर १० मिनेट बनाइएकाे छ । एमालेबाट थापाले पाएको समय ५ मिनेट भए पनि थप ३ मिनेटसहित ८ मिनेट रहेकाे छ ।
नेकपाबाट पुनले बोल्ने पाउने समय ५ मिनेट रहेकामा थप २ मिनेट गरेर ७ मिनेट तोकिएको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट साम्पाङले बोल्न पाउने समय ५ मिनेट भए पनि २ मिनेट थपेर ७ मिनेट बाेल्नेछन् । राप्रपाबाट ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले पनि ७ मिनेट नै बाेल्नेछन् ।





