एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत

एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई घरेलु श्रमिक बनाएर राखेको र कुटपिट गरेको कसुरमा उनलाई प्रहरीले आइतबार बेलुका बालुवाटारस्थित घरबाटै पक्राउ गरेको हो ।

हालका प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिको मेयर हुँदा उनीविरुद्ध महानगरले उजुरी दिएको थियो। तर, तत्कालीन सरकारको दबाबमा उनलाई मुद्दा नचलाउने उजुरी भएको थियो।

बालुवाटारस्थित एक घरमा घरेलु कामदारको रुपमा बस्दै आएकी बालिकको उजुरीमा शर्मामाथि दुई वर्षअघि नै महानगरपालिकाले छानबिन गरेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले १४ जेठ २०८१ मा उद्धार गरी सामाजिक संस्थामा पठायो।

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने र कुटपिट समेत गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो । जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन् ।

सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउन २०८१ मा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले सरकारको दबाबमा अनुसन्धानमा चासो दिएन । त्यसको बालेनले फेसबुकमार्फत नै सरकारको चर्काे आलोचना गरेका थिए ।