को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?

मूलखबर संवाददाता
काठमाडौं

सिता बादी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

शुक्रबार भएको सरकार गठनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारमा उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । विसं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मनुभएकी उहाँले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दैनिकी गुजार्दै आउनुभएको थियो । उहाँले पदभार ग्रहण गर्दै भन्नुभयो, “यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन । किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो । परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ ।”

महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उहाँले बताउनुभयो । मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाइ छ ।

झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिनुभएको थियो । १३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोग घर छोडेर काठमाडौँ जानुभयो । उहाँले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गर्नुभएको छ ।

अधिकारकर्मी हिक्मत वादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको संघर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताउनुभयो । “सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु । अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ”, उहाँले भन्नुभयो ।”

जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताउनुभयो ।