इजरायलमाथि इरानकाे भिषण जवाफि हमला, १५० बढि घाइते
इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ। आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरी गरिएको आक्रमणमा कम्तीमा १५० जना घाइते भएको इजरायली सेनाको रेडियोले जनाएको छ।
आक्रमणका क्रममा ठूला भवनहरूमा व्यापक क्षति पुगेको छ भने इजरायलका ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर मिसाइल प्रहार तीव्र बनाइएको बताइएको छ। प्रत्यक्षदर्शी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न स्थानमा ठूलो विस्फोटका आवाज सुनिएका छन्।
अमेरिका र इजरायलले इरानका ऊर्जा तथा तेल खानीहरूमा आक्रमण गरेपछि तेहरानले त्यसको जवाफस्वरूप यो आक्रमण थालेको हो। अल जजीराका अनुसार इरानको हमलापछि इजरायलका विभिन्न सहरमा त्रासको अवस्था सिर्जना भएको छ।
इजरायली सेनाले इरानबाट दोस्रो चरणको आक्रमण पनि जारी रहेको जनाएको छ। सेनाका अनुसार मिसाइलहरूलाई आकाशमै निष्क्रिय पार्ने प्रयास भइरहेको छ भने ठूलो संख्यामा घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ।
यसैबीच इरानले आफ्ना ऊर्जा तथा आणविक केन्द्रहरूमा थप आक्रमण भए अमेरिका र उसका सहयोगी देशका ऊर्जा, पानी तथा सूचना प्रविधिसम्बन्धी संरचनामाथि प्रत्यक्ष हमला गर्ने चेतावनी दिएको छ।
यस घटनासँगै मध्यपूर्व क्षेत्रमा तनाव झनै चर्किएको छ र इरान–इजरायलबीचको द्वन्द्व अझ खतरनाक चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ।





