रास्वपा छाेड्ने क्रम बढ्याे : बाराका जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीद्वारा राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, ८ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ। बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका चौधरी यसपटक पनि टिकटको आकांक्षी थिए। तर उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन्।

जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार चौधरीको बहिर्गमनको मुख्य कारण उम्मेदवार चयन प्रक्रिया हो। उनले भने, “उनले २५ हजार रुपैयाँ शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागिता जनाएका थिए। तर अन्तिममा विधिविपरीत ढंगले उम्मेदवार चयन भएको महसुस गर्दै पार्टी परित्याग गरे।”

अघिल्लो निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सबैभन्दा बढी मत ल्याएका थिए। चौधरी समुदायको उल्लेख्य बसोबास रहेको बारा क्षेत्र नम्बर–४ मा उनको बहिर्गमनले चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

जिल्ला कमिटीका सहसचिवसमेत रहेका चौधरी हाल राष्ट्रिय एकता दल मा प्रवेश गरेका छन्।

यसैबीच, अन्य दलबाट आएका व्यक्तिलाई तीन क्षेत्रमा टिकट दिइएपछि बारामा रास्वपाका संस्थापक तहका नेताहरू असन्तुष्ट देखिएका छन्। पार्टी गठनको पहिलो दिनदेखि सक्रिय केही पदाधिकारीले धमाधम पार्टी छाडिरहेका छन्।

यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, बारा क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महागढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले पार्टी त्यागिसकेको सभापति स्वर्णकारले जानकारी दिए।

रास्वपाले बाराका चारमध्ये तीन निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। जनता समाजवादी पार्टी बाट आएका चन्दन सिंह बारा क्षेत्र नम्बर–२ मा उम्मेदवार छन्। बारा क्षेत्र नम्बर–३ मा उज्यालो नेपालसँग आबद्ध अरविन्द सिंह र बारा क्षेत्र नम्बर–४ मा पूर्व नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पृष्ठभूमिका रहबर अन्सारीलाई उम्मेदवार बनाइएको छ।