कांग्रेसकाे प्रतिज्ञापत्र सार्वजनिक, के छ पत्रमा ?
कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सभापति थापाले बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।
१० बुँदे संक्षिप्त प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वभाविमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल बुँदा समावेश छन् ।
जात, धर्म, वर्ण, लिंग, वर्ग वा भूगोलको आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउने संकल्प कांग्रेसले गरेको छ । यस्तै, विदेशिएका नेपालीलाई फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीँ सुनौलो भविष्य देखिने जीवन्त देश बनाउने, राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्ने तर अवैध तरिकाले सम्पति थुपार्ने र उपभोग गर्ने प्रवृतिलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने संकल्प गरेको छ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृति कै रुपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।




