किन ह्वात्तै घट्यो सुनको भाउ ?

मूलखबर संवाददाता
काठमाडौं, १७ माघ

सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ हजार ८०० मा झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार त्यो झरेर चार हजार ८९५ डलरसम्म पुगेको छ । यसरी नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको सुनको भाउमा एकाएक भारी गिरावट आएपछि विश्व बजारमा व्यापक चासो र चिन्ता बढेको छ ।

सुनचाँदीको भाउमा यसरी तलमाथि हुने प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका हुँदैन । यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।

विश्लेषकहरूले अमेरिकी डलर ‘बलियो’ भएपछि सुनको मूल्यमा गिरावट आएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ(फेड)को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता घटाएकाले डलर बलियो हुनपुगेको विश्लेषकहरूको मत छ ।