धरानमा बस दुर्घटना, पाँच जनाको मृत्यु १३ जना घाइते, मृतककाे नामसहित

मूलखबर संवाददाता
काठमाडौं, ४ पुस

जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले  पहिचान हुन ढिला भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

तस्वीर : फाइल फाेटाे