समाजवाद स्थापनामा प्रचण्डको नेतृत्वकाे आवश्यकता
कमरेड प्रचण्ड वर्गसङ्घर्षको आवश्यकताले जन्माएको नेता हो । सत्य यो हाे कि प्रचण्डमा कहिले पनि आफू यो स्तरको नेता हुन्छु भन्ने ख्वाब पहिला थिएन। पार्टी, क्रान्ति, देश, जनता र वर्ग संघर्षको हितमा नि:स्वार्थ काम गर्दै जाँदा, गर्दै जाँदा उहाँको आवश्यकतालाई वर्गसंघर्षको आवश्यकताले एक परिपक्व नेताको रूपमा स्थापित गर्यो । प्रचण्ड राप ताप वर्गसंघर्षको भट्टीबाट उत्पादन भएको नेता हो । अर्को अर्थमा प्रचण्ड नेपाली वर्ग सङ्घर्ष क्रान्तिको विचारको नेता हो।
नेपाली मौलिकताको जनयुद्धको कुशल परिचालनकर्ता हो । जसले युद्ध र शान्तिबीचको अविभाज्यता, वार्ता र संवादको अविभाज्यता, फौजी र गैर फौजी राजनीतिक तालमेलको सन्तुलन बनायो । भीषण युद्धमा रहेको देश र पार्टीलाई शान्ति र संविधानमा पुर्यायाे । जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको फ्युजन द्वारा नेपालमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आमूल परिवर्तनलाई सम्भव तुल्यायो । वर्ग संघर्षको आँधीबेहरीमा प्राप्त ऐतिहासिक राजनैतिक उपलब्धिलाई ख्यालठट्टा ठान्नेहरू, वाकपटुता, चतुर्याइ र वैदेशिक प्रतिक्रियावादको आशीर्वादमा राजनीतिक भविष्य देख्ने विचार दृष्टिकोण संस्कार र संस्कृतिविहीन, त्याग समर्पण र बलिदान के हो थाहा नभएका, निष्ठा समर्पण र त्यागको भाव नभएका दीर्घकालीन र अल्पकालीन मध्यकालीन उद्देश्य रणनीति र कार्यनीति नभएका वाकपटुकहरू जो वैदेशिक प्रतिक्रियावादको कठपुतली जसरी नचायो त्यसैगरी नाच्छन्। त्यसलाई ईश्वर मानेर पूजा गर्नेहरू, यथास्थितिवाद रूढीवाद परम्परावादी पश्चगामी सोच र चिन्तन भएकाहरू होहल्लामा लागेर प्राप्त उपलब्धिहरू गुमाउने हो कि उपलब्धिहरूको रक्षा गर्दै स्वर्णिम युग समाजवादी युगमा नेपाललाई पुर्याउने हो ? जनता जनार्दनले गहिरोसँग हिसाब गर्न चुकियो भने इतिहासले हामीलाई १०० वर्षसम्म धिक्कार्नेछ। त्यतिबेला `हिस्स बुढी हरिया दाँत र किन चाउरिस मरिच आफ्नै रागले´ भन्या जस्तो नियतमा नेपाल र नेपाली पुग्नेछ ।
नेपालीले सुनौलो भविष्यका लागि आफ्नै काखा पोल्टामा पाएको एउटा युगकै गतिशील नायक कमरेड प्रचण्डको निष्ठा इमान्दारिता कार्यकाैलशलता, त्याग, साहस बलिदान सौर्यता सहितको युग बदल्ने प्रतिभाशाली नेपाल राष्ट्र र जनताप्रति समर्पित नेतृत्वमा आफ्नो भाग्य र भविष्य सुरक्षित भन्ने अध्ययन मनन चिन्तन र विश्वास र भरोसा राख्नेछ । प्रत्येक नेपालीमा आलोचनात्मक चेत छ। प्रचण्डलाई नेपाली जनताले भगवान होइन मानवभित्रको सीमा कमजोरी मध्यको अहिलेसम्म जे जति भौतिक रुपमा देखिएका नेताहरू भन्दा प्रचण्डमा तुलनात्मक रूपले नकारात्मक दुर्गुणभन्दा सकारात्मक गणहरु भएको आफैप्रति निर्मम आत्मसमीक्षा र आलोचना गर्न सक्ने, आफूलाई निरन्तर परीक्षणकालमा राख्दैन रूपान्तरित हुन सक्ने, नैतिक दायित्व र जिम्मेवार ढंगले प्रस्तुत हुन सक्ने कुशल नेतृत्वकाे रूपमा बुझ्दछ ।
कमरेड प्रचण्डको इमान्दारिताप्रति परिर्वतनकामी नेपाली जनताको भरोसा रहने कुरामा दुईमत हुनुपर्ने कुनै कारण छैन । यदि हामी नेपाललाई सकुशल नेपाल राष्ट्रकै रुपमा देख्न चाहन्छौं भने, यदि हामी अहिलेका सबै सीमा समस्याबाट मुक्त भएर स्वाधीन र समृद्ध , समाजवादी नेपाल देख्न चाहन्छौं भने कमरेड प्रचण्डको नेतृत्वमा सिङ्गो नेपालका देशभक्त राष्ट्रप्रेमी, अग्रगमन र समाजवादको परिवर्तन पक्षधर नेपाली जनताहरू दुविधा र शङ्कामा रहन आवश्यक छैन।
(लेखक नेपाली कम्युनिस्ट पार्टीका सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य हुन्)




