नेपाली कम्युनिस्ट पार्टीले आज राजधानीमा एकता सन्देश सभा गर्दै, १ लाख सहभागी हुने दावी

मूलखबर संवाददाता
काठमाडौं, ५ पुस २०८२

नेपाली कम्युनिस्ट पार्टीले आज राजधानीमा एकता सन्देश सभा गर्दैछ । पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र संघीय सम्पर्क प्रदेश समितिकाे संयुक्तरूपमा आयाेजना गर्न लागिएको सभा काठमाडौंकाे भृकुटीमण्डप सडकमा गर्ने तयारी गरिएको छ । त्यसको लागि शुक्रबार रातभरि लगाएर मञ्च र साउण्ड सिस्टम तयार गरिएको छ ।

आयाेजकहरूका अनुसार आजकाे सभा छाेटाे र व्यवस्थित हुनेछ । करिब ३ घण्टामा कार्यक्रम सक्ने तयारी गरिएको छ । सभामा करिब १ लाखकाे सहभागीता रहने आयाेजककाे दावी छ ।

माइतीघर, सुन्धारा र रत्नपार्कबाट जुलुस : सभामा सहभागी हुन आएका नेता कार्यकर्ताहरू तीन ठाउँमा जम्मा भएर जुलुस र र्यालीसहित भृकुटीमण्डपमा पुग्ने बताइएको छ । काठमाडौं पुर्वका जिल्ला भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दाेलखा, रामेछाप र सिन्धुलीबाट आउने सहभागीहरू माइतीघरबाट जुलुससहित जाने, काठमाडौं पश्चिमका जिल्ला मकवानपुर, चितवन र धादिङबाट आएका सहभागीहरू सुन्धारा र काठमाडौं उत्तरका नुवनकाेट, रसुवा जिल्लाबाट आएका सहभागीहरू रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर जुलुसमा सहभागी हुने र जुलुस रत्नपार्कबाट बागबजार,  पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुग्ने बताइएको छ ।

पुतलीसडक, सुन्धारा र रत्नपार्कसम्म माईक ब्यवस्था – भृकुटीमण्डपमा मात्रै मानिस अटाउन नसक्ने भएकाले सुन्धारा, रत्नपार्क, बागबजार  र पुतलिसडकमा सुन्न सक्नेगरी माइक र साउण्ड सिस्टमकाे व्यवस्था गरिएको बताइएको छ ।

बसेकै ठाउँमा खानेपानीकाे व्यवस्था – सहभागीका लागि बसेकै ठाउँमा खानेपानि उपलब्ध गराउने व्यवस्था गरिएको आयाेजकले बताएका छन् ।

साँस्कृतिक झाँकी, गित नाच प्रस्तुति: सभामा विभिन्न जातजाति र समुदायका झाँकी र गित तथा नृत्य प्रस्तुत गरिनेछ ।

मुख्य वक्ता प्रचण्ड र माधव नेपाल : सभालाई सभ्य र व्यवस्थित बनाउनकाे लागि बक्ता कम राखिएको आयाेजकले बताएका छन् । प्रमुख वक्ताकाे रूपमा पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव कुमार नेपाल रहने बताइएको छ ।

कार्यक्रम ३ घण्टामा सकिने : नेपाली कम्युुनिष्ट पार्टीले आजकाे कार्यक्रम ३ घण्टामा सकिने बताएको छ । विहान ११ बजेबाट विभिन्न स्थानबाट जुलुस र र्याली शुरू गरी १२ बजे सभा शुरू हुने र ३ बजे समापन गरिने आयाेजकले बताएका छन् ।

सवारी साधनहरु कता पार्किङ गर्ने ? –

१. माईतिघर बबरमहल जम्माहुने जनसमुदायको सवारी साधन बिजुली बजार पुलबाट ठुला गाडीहरु फर्काएर करिडोरमा र प्राईभेट गाडी र बाईकहरु सडकबिभागको पार्किङ लगायत वरपर मिलाउने
२. ⁠सुन्धारा जम्मा हुने टिमले टुडीखेलमाको दक्षिण र पश्चिम तर्फको गेट खोल्ने व्यवस्था मिलाईएको छ त्याहा पार्किङ गर्ने  ।
३. ⁠शान्तिबाटिका रत्नपार्क जम्मा हुने टिमले रत्नपार्कमा मान्छे झारेर ठुला साना सवारी साधनलाई टुडिखेलमा पार्किङ गर्ने  ।

4. डिल्लिबजारमा भेलाहुने जनसमुदायले पिपलबोट उत्तर तर्फ पार्किग गर्ने,  जुलुस सहित रत्नपार्क शान्तिवाटीका हुदै भृकुटीमण्डप जाने !