सभाहल बन्नेबित्तिकै हिउँदे अधिवेशन आह्वान हुने विश्वास छ- दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सभा हलको काम सकिनेबित्तिकै सरकारले हिउँदे अधिवेशन आह्वान हुने आफूले विश्वास लिएको बताउनु भएको छ।
संघीय संसद सचिवालयले काठमाडौँमा आज आयोजना गरेको राष्ट्रिय सभाको अठारौँ अधिवेशनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।
सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहललाई राष्ट्रिय सभा हल बनाउन लागिरहेको भन्दै अध्यक्ष दाहालले अबको १०/१२ दिनभित्र सभा हल निर्माणको काम सकिने र त्यसपछि सरकारसँग अधिवेशन आह्वानका लागि आग्रह गरिने बताउनु भयो।
“कानूनमन्त्री यही हुनुहुन्छ, उहाँलाई मैले हरेक पटकको भेटमा सभा हल निर्माणको अवस्था बताउँदै अधिवेशन बोलाउने विषयमा जानकारी गराइरहेको छु,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र राष्ट्रपतिज्यूसँग पनि मैले सभा हल निर्माण भइसकेपछि बैठक आह्वान गर्नुपर्छ भनेको छु। त्यसमा उहाँहरु पनि सकारात्मक भएको मैले पाएको छु।”
राष्ट्रिय सभाले अहिलेको राजनीतिक अन्योल र असहजतालाई सहज बनाउन राम्रो भूमिका खेल्ने भन्दै अध्यक्ष दाहालले सबै पक्षले विश्वासको वातावरण बनाउन आ-आफ्नो ठाउँमा गम्भीर हुनुपर्ने बताउनु भयो।
राष्ट्रिय सभाको अठारौँ अधिवेशन चलिरहँदा जेनजी आन्दोलन भएको र त्यसपछिको घटनाक्रमका बारेमा सबै जानकार रहेको चर्चा गर्दै अध्यक्ष दाहालले फेरिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सभाको महत्त्व र भूमिका बढेको बताउनु भयो।
राष्ट्रिय सभाले आफूलाई कसरी प्रभावकारी र जनताको हितमा काम गर्न सकिन्छ भनेर काम गरिरहेको भन्दै अध्यक्ष दाहालले परम्पराका नाममा अनावश्यक र समयको खर्च हुने केही विषयलाई हटाउँदै जान थालेको बताउनु भयो। बजेट पारित गर्ने बेलामा पेस गरिने खर्च कटौतीको प्रस्तावलाई सर्वसम्मत रुपले हटाएको भन्दै उहाँले राष्ट्र हित र जनताको पक्षमा हुने कामलाई प्राथमिकता दिउँ र समय खर्च गर्ने काममा नलागौँ भनेर त्यसो गरिएको बताउनु भयो।
राष्ट्रिय सभामा सहकार्य र सहमतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उहाँले संविधान, कानून र नियमावलीमा तजबिजी अधिकार छ भन्दैमा त्यसको प्रयोग गर्ने दुस्साहस नगरेको बताउनु भयो।
कर्मचारी प्रशासन संविधान, कानून र नियमावलीको परिधिमा रहेर अलि चलायमान बन्न अध्यक्ष दाहालको आग्रह थियो।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, समिति सभापतिहरु, राष्ट्रिय सभा सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव, निवर्तमान सचिवलगायतले बोल्नुभएको थियो।
पहिलो सत्रमा समितिका सचिव र महाशाखा प्रमुखहरुले समिति र महाशाखाको काम कारबाहीका बारेमा रिपोर्टिङ गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय सभा कार्यव्यवस्था महाशाखा प्रमुख सीता वाग्लेले गर्नुभएको थियो ।




