एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, आजै नतिजा सार्वजनिक गर्ने तयारी

मूलखबर संवाददाता
काठमाडौं, ३ पुस

नेकपा एमालेकाे जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

राजधानी काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार विहानदेखि शुरू भएको मतदान बिहीबार विहान ५ बजेसम्म २१ सय जनाले मतदान गरिसकेका महासचिवको प्रत्यासी सुरेन्द्र पाण्डेले बताएका छन् ।

पाण्डेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मतदान प्रक्रिया अब केही समयमा नै सम्पन्न हुन लागेको जनाएका छन् ।

निर्वाचन आयोगले मतदान गर्न बाँकी रहेका र मतदानस्थल बाहिर रहेका सम्पूर्ण प्रतिनिधिहरूलाई बिहान ५ बजेभित्र अनिवार्य रूपमा मतदानस्थलमा प्रवेश गरिसक्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाउने जनाइएको छ ।

महासचिवका उम्मेदवार पाण्डेले मतदान गर्न बाँकी रहेका सम्पूर्ण प्रतिनिधिहरूलाई समयमै मतदान स्थल पुगी आफ्नो मत प्रयोग गर्न विशेष अनुरोध गरेका छन् । ‘तोकिएको समयमा मतदान स्थलमा प्रवेश गरी आफ्नो मत प्रयोग गर्न सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई अनुरोध गर्दछु,’ उनले उल्लेख गरेका छन् ।

विद्युतीय मशिनमार्फत भइरहेको मतदान प्रक्रिया सकिएलगत्तै गणना सुरु हुने र बिहीबारै परिणाम सार्वजनिक गर्ने तयारी छ ।