कतार उँडे दुई हात्ती खगेन्द्रप्रसाद र रूद्रकली
नेपालका दुई हात्ती कतार उँडेका छन् । नेपाल सरकारले कतारलाई उपहारस्वरूप दिएका दुई हात्ती—भाले खगेन्द्रप्रसाद र पोथी रुद्रकली बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेका छन्।
कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर विमानमार्फत दिउँसो ५ बजेपछि उनीहरू कतारतर्फ उडेका हुन्। मौसम खराबीका कारण विमान बिहान भारतको कोलकाता डाइभर्ट भए पनि पछि भैरहवाबाट उडान सम्भव भएको थियो।
चितवनबाट मंगलबार नै भैरहवा ल्याइएका हात्तीहरूसँगै एक पशु प्राविधिक र दुवै हात्तीका माउते पनि कतार गएका छन्। उनीहरूले केही समय त्यहाँ बसेर हात्तीको स्याहारसुसार गर्ने र स्थानीय कर्मचारीलाई तालिम दिएपछि नेपाल फर्किनेछन्।
छ वर्षको खगेन्द्रप्रसाद र सात वर्षकी रुद्रकली चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका हुन्। खगेन्द्रप्रसाद कोशीकलीको सन्तान हुन् भने रुद्रकली पूजाकलीको कोखबाट जन्मिएकी थिइन्। दुवै हात्तीका बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले जनाएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाखमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। यसअघि पनि नेपालले मित्रराष्ट्रसँग कूटनीतिक सम्बन्ध सुदृढ गर्न वन्यजन्तु उपहार दिने अभ्यास गर्दै आएको छ।




