एमाले महाधिवेशन : उम्मेदवार मनोनयन शुरू, काे काे हुन् पदाधिकारीका उमेदवार ?

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।

आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।

यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ ।

आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

गुन्डुमा जारी  ओली पक्षीय  छलफलमा सहभागी एक नेताका अनुसार अहिलेसम्मको छलफलमा पाँच जना उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम लगभग फाइनल भइसकेको छ।

ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन्।

एक जना उपाध्यक्ष पदमा प्रदीप ज्ञवाली वा शंकर पोखरेललाई ल्याउन सक्ने सम्भावना रहेको ओली समूहका एक सदस्यले बताए।

त्यसैगरी पाेखरेल समुहमा भएकाे छलफलमा महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भइसकेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई फाइनल भइसकेका छन्। सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन्