सकियाे एनपिएल : लुम्बिनी लायन्सको सानदार जित, सुदुरपश्चिम उपविजेता
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन सकिएकाे छ । यस प्रतियाेगितामा लुम्बिनी लायन्स विजयी बनेकाे छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्स पराजित गर्दै लुम्बिनीले ६ विकेटको विजय निकालेकाे हाे ।

कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।
दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गर्यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौँ खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो ।




