७० वर्षे उमेरहद र दुई कार्यकालकाे व्यवस्था लागु गराैं भनेपछि पछि हटे ओली
नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली पछि हटेका छन् । आजबाट शुरू हुन लागेकाे ११ ओैं महाधिवेशन तयारी र पदाधिकारीकाे संख्या टुंगो लगाउन बसेकाे अन्तिम सचिवालय बैठकमा अध्यक्ष केपी ओली आफ्नो प्रस्तावबाट पछि हटेका हुन् ।
ओलीले आकांक्षी धेरै देखिएकाे भन्दै विधान महाधिवेशनबाट पारित भएको पदाधिकारी र केन्द्रीय समिति सदस्यकाे संख्यालाई बढाउने प्रस्ताव गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले त्यसको प्रतिवाद गरेपछि ओली पछि हटेको ती नेताले बताए।
‘तीन महिना पनि भएको छैन विधान महाधिवेशन गरेको, त्यति बेला पनि हामीले पदाधिकारी संख्या अहिले नै हेरफेर गर्ने भए गरौं भनेकै थियौं भनेर प्रतिवाद गर्यौं,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘विधान संशोधन गरेर जाने भए दुई कार्यकाल र ७० वर्षे उमेरहद पनि राखौं भन्यौं। त्यसपछि अध्यक्ष ओली आफै पछि हटेर अहिले १५ नै कायम गरौं भन्नुभयो।’
एमालेको वर्तमान सचिवालय (पदाधिकारी) १९ सदस्यीय छ। गत भदौ २०, २१ र २२ गते भएको दोस्रो विधान महाधिवेशनले त्यसलाई घटाएर १५ राख्ने निर्णय गरेको थियो। उक्त विधान ११औं महाधिवेशनदेखि लागू हुनेछ।





