एमालेकाे विधान अधिवेशनकै निर्णय यथावत राख्ने सचिवालयकाे निष्कर्ष
नेकपा (एमाले)को सचिवालय बैठकले गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ।
महाधिवेशनमा १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरिएको थियाे ।
सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या बढाउनेगरी प्रस्ताव गरेका थिए । तर उनको याेजना सफल भएन र अन्ततः विधान महाधिवेशनमा पारित विधान मुताविक नै पदाधिकारी र केन्द्रीय समिति सदस्य रहने भएका छन् ।
सचिवालयले नेपाल सरकार र जेनजीबीचको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाएको छ।
बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको बताए ।
उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिंगो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन् ।
बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मंसिर २७ गते सार्वजनिक हुनेछ ।
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ ।




