एमाले नेतृत्व परिवर्तन अपरिहार्य, अध्यक्षमा पाेखरेल उपयुक्त : शाक्य

मूलखबर संवाददाता
काठमाडौं, २३ मंसिर

नेकपा एमालेकाे ११ ओैं महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्व परिवर्तनको दबाब निरन्तर बढिरहेको छ ।

अध्यक्ष केपी ओलीले छाड्नुपर्ने दबाब बढिरहेका बेला केन्द्रीय कमिटिकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोलनका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन्।

नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रूपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो अनुभव गर्न नपाएको उनले बताइन्।

उनले अहिलेको नेतृत्वसँग परिवर्तनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउनुपर्ने धारणा राखिन्।

उनले भनिन् – विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प छैन ।