२०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीन गराैं : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीन गर्न सार्वजनिक माग गरेका छन् ।
भ्रष्टाचारविरुद्ध २२ औँ अन्तरराष्ट्रिय दिवसको शुभकामना दिँदै प्रचण्डले भनेका छन्- हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसदको रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।
शुभकामना सन्देशकाे पुरा पाठ-
आज विश्वभर मनाइँदै गरेको भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सुशासनका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
संयुक्त राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको महासन्धि (UNCAC) सन् २००३ मा पारित भएपछि हरेक वर्ष डिसेम्बर ९ मा यो दिवस मनाउने गरिन्छ। नेपालले २०११ मा यो महासन्धिलाई अनुमोदन गरी सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जनाएको थियो।
म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं। सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए। बिना कुनै राजनीतिक आग्रह-पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरण लगायत ठूला ठूला भ्रष्टाचार काण्डहरूको छानबीन अघि बढाइयो।
यसका साथै प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए। हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसदको रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, यो निरन्तरको सङ्घर्ष हो। यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ। यो दिवसले हामी सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा देओस्। पुनः शुभकामना !




