नेपाली कम्युनिस्ट पार्टीले आज पाेखरामा एकता सन्देश सभा गर्दै

मूलखबर संवाददाता
पाेखरा, १४ मंसिर

नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा पोखरामा आयोजना गर्ने भएको छ। पार्टी एकता प्रक्रियालाई देशभर सुदृढ बनाउन थालिएको सन्देश सभामध्ये पोखराको कार्यक्रम तेस्रो कार्यक्रम हाे ।  यसलाई  महत्वपुर्ण रूपमा हेरिएको छ।

चिप्लेढुंगामा बिहान ११ बजे सुरु हुने सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहितका शीर्ष नेता, केन्द्रीय सदस्य तथा प्रदेशस्तरीय पदाधिकारीहरूले सहभागी हुनेछन्। उनीहरूले पार्टी एकताको आवश्यकता, लक्ष्य र आगामी राजनीतिक दिशाबारे विस्तृत रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसअघि सन्देश सभाको पहिलो कार्यक्रम धनगढीमा र दोस्रो दाङमा सम्पन्न भइसकेको छ, जहाँ हजारौँ कार्यकर्ता र जनसमुदायको उत्साहजनक उपस्थिति देखिएको थियो। देशभर फैलिएको नयाँ एकता अभियानलाई संगठन विस्तार तथा विचार–परिप्रेषणको अवसरका रूपमा पार्टीले लिएको छ।

गण्डकी प्रदेशको सभामा पनि उल्लेख्य भीड तथा उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ। आजको कार्यक्रममार्फत हालै एकीकृत संरचनामा अघि बढेको पार्टीले गण्डकी प्रदेशमा आफ्नो सुदृढ उपस्थिति प्रदर्शित गर्ने र कार्यकर्तालाई आगामी राजनीतिक कार्ययोजनाबारे स्पष्ट सन्देश दिने तयारी गरेको छ।