जेनजी विद्राेहमा लुटिएका ७२३ थान हतियार बरामद, ५ हजार ६ सय कैदी फिर्ता, अझै कति बाँकी ?

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

गत भदौ २३ र २४ मा भएको २ दिने जेनजी आन्दोलन र विद्राेहका क्रममा प्रहरीबाट आन्दोलनकारीले लुटेका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएका छन् । सरकारले साे जानकारी गराएकाे हाे ।

बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अर्यालले हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको बताए । मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए ।

बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि बताए । उनले जेनजी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताए । मन्त्री अर्यालले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत गराए ।

उनले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताए । सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको पनि बताए ।