नेपाली कम्युनिस्ट पार्टी र जसपालगायतबीच एकता

मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी तथा अन्य घटकबाट विद्राेह गरेका समुहहरूबीच एकता भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित एकता घोषणा कार्यक्रम राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रममा जसपाका संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठकाे नेतृत्वमा जसपाकाे एकता पक्षधर समुहले नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेको छ भने साे कार्यक्रममा जनजागरण पार्टी नेपाल, नेकपा बहुमतबाट विद्राेह गरेका शरद रसाइली सहितका नेता तथा नेकपाबाट विद्राेही समुहकाे नेतृत्व गर्दै गाेपाल परियारसहित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

कार्यक्रममा विभिन्न वामपन्थी घटक, समूह र संगठनबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियो।

कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड रहनुभएकाे छ भने सह संयाेजक माधव कुमार नेपाल, बरिस्ठ नेता झलनाथ खनाल, नेताहरू बामदेव गाैतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी रहेका थिए ।

मुख्य मंचमा पार्टीका वरिष्ठ नेतृत्व, पूर्व पदाधिकारी, विभिन्न संगठनका अगुवाहरू तथा प्रदेश–स्थानीय तहका प्रतिनिधिहरू समेत बसेका देखिन्थे। सभाहल भरिभराउ रहेको थियो भने सहभागीहरुले नारा, ताली र उत्साहपूर्ण वातावरणका साथ एकता घोषणालाई समर्थन जनाएका थिए।

कार्यक्रमस्थलमा झुण्ड्याइएको ठूलो व्यानरमा नेपाली कम्युनिस्ट पार्टी र त्यससँग एकीकृत विभिन्न समूहहरूको नाम उल्लेख गरिएको थियो। ‘एकता घोषणा कार्यक्रम’ शीर्षकसहितको व्यानरले वामपन्थी शक्तिको पुनः एकीकृत प्रयासलाई संकेत गरेको देखिन्थ्यो।

सभामा मन्तव्य राख्ने वक्ताहरूले लामो समयदेखि छरिएर रहेका वामपन्थी धाराहरूलाई एक ठाउँमा ल्याउनु आजको आवश्यकता रहेको बताए। उनीहरूले एकतापछि मुलुकको राजनीतिक स्थिरता, सामाजिक न्याय र समृद्धि अभियानलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा देशभरिबाट आएका कार्यकर्ताहरू, राजनीतिक विश्लेषक, समाजका विभिन्न तहका प्रतिनिधि र सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति थियो। राष्ट्रिय सभागृहमा आयोजित यो भेला वाम राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।-