एमाले संसद पुनःस्थापना र निर्वाचन दुबैकाे लागि तयार : महासचिव पाेखरेल
नेकपा एमालेले निर्वाचन र संसद पुनःस्थापना दुबै बाटाेमा सँगसँगै लाग्ने गरी दुई जिब्रे बाटाे अपनाएकाे छ । एकातिर संसद विघटन असंवैधानिक भन्दै पुनःस्थापना काे लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने र देशव्यापी जनपरिचालन र सभाहरू गर्ने तथा अर्कोतिर आन्तरिक पार्टी पंक्तिलाई चुनावकाे पुरै तयारी गर्न लगाई निर्वाचन आयाेगमा दल दर्ता समेत गरेको छ ।
यसलाई पुष्टि गर्दै पार्टी महासचिव शंकर पाेखरेलले मुल कुरा संसद पुनःस्थापना नै भए पनि चुनावलाई पनि नछाड्ने स्पष्ट पारेका छन् ।
उनले लेखेका छन् –
नेकपा (एमाले) लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तागर्दै आएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार भएको हो।
अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो ।
यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ। बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् ।
यस्तो अवस्थामा, २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा(जेन्जी)हरुको भावनाको सम्वोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको छ।




