एमाले अध्यक्षमा पाेखरेलद्वारा उमेदवारी घाेषणा, विद्यालाई पार्टीमा फर्काउने
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अन्ततः आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनलेे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउने बताएका छन् ।
पोखरेलले मंगलबार एक वक्तव्य जारी गर्दै अध्यक्षमा उमेदवार बन्ने घाेषणा गरेका हुन् । ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो’, पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’
उनले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने पनि बताएका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको समेत बताएका छन् ।
आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए।
पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले बताएका छन्।




