सर्वोच्च अदालतले माग्यो प्रधानमन्त्री कार्कीसँग अवहेलनामा लिखित जवाफ

मूलखबर संवाददाता
काठमाडौं, ७ मंसिर

सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग राजदूत फिर्ता नगर्नू भन्ने आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको आरोपमा लिखित जवाफ माग गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले आइतबार कार्कीसहित विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो।

सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो।

तर सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। जसमा कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई उक्त निर्णय कार्यन्वयन नगर्न भनेको थियो।