निर्वाचनलाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान

मूलखबर संवाददाता
काठमाडौं, ५ मङ्सिर

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले सफल बनाउन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको बताए । सो निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

‘यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’