एमालेमा नेतृत्वबारे विवाद : वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

एमालेकाे एघारौँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वबारे विवाद पनि चर्किएकाे छ । केपी अाेलीकाे नेतृत्व अविछिन्न हुने दावी गरिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन तयारीबारे छलफलका लागि बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्षको उम्मेदवार बन्ने अध्यक्ष केपी ओलीसहित नेताहरूलाई औपचारिक जानकारी गराएका हुन् ।

केपी ओली विरुद्ध आम जनआक्रो बढिरहेको तथा पार्टी भित्र पनि निरंकुशता लादेको भन्दै आलोचना भइरहेका बेला भएको जेनजी विद्रोहपछि एमालेभित्र ओलीले नेतृत्व छाड्नेपर्ने दबाब तिब्र बनेको हाे । यसै सन्दर्भमा उपाध्यक्ष पाेखरेलले ओलीलाइ नेतृत्व छाड्न दवाव दिएका हुन् ।

दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन् । बैठकमा उनले अध्यक्ष ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न ध्यानाकर्षणसहित आग्रह गरेका थिए ।

जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफूले अन्यथा ढंगले नलिने बताएका थिए । यद्यपि, उनले पार्टीभित्र अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजित भएर पनि पार्टी बचाउन एकताबद्ध बनाएर अघि बढाउन आफूले मात्र योगदान गरेको दृष्टान्त प्रस्तुत गर्दै केही गरी नेतृत्वमा पराजित भएको अवस्थामा माधव नेपाल र भीम रावलले जस्तो पार्टीमै नरहने अवस्था नआओस् भन्दै सचेततापूर्वक स्वस्थ प्रतिस्पर्धामा भाग लिन ध्यानाकर्षण गराएका थिए ।