एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडपपछि सिमरा क्षेत्रमा कर्फ्यु, स्थिति तनावग्रस्त
एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएपछि सिमरा विमानस्थलमा तनाब भएको छ ।
एमाले नेताहरू शंकर पाेखरेल र महेश बस्नेत विमानस्थलमा आउन लागेकाे खबर थाहा पाएपछि जेनजी युवाहरूले विमानस्थल गेट ताेडफाेड गरी भित्र पस्न खाेजेपछि एमाले कार्यकर्तासँग झडप भएको थियाे ।
सिमरा विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार, बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गर्ने त्यहाँको नागरिक उड्डयन कार्यालयले गरेको अधिकारीले बताए।
झडप र ताेडफाेडपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।




