नयाँ नाम दर्ता गर्ने मतदाता ५ लाख नाघे, अझै ५ दिन बाँकी

मूलखबर संवाददाता
काठमाडौं, १ मंसिर

जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा सदस्यकाे निर्वाचन आगामी फागुन २१ गते गर्नेगरी अन्तरिम सरकारले घाेषणा गरेपछि मतदानकाे लागि याेग्य नागरिकले नाम दर्ता गर्ने लहर ह्वात्तै बढेकाे छ ।

निर्वाचन आयाेगले कात्तिक ३० गतेसम्मको लागि मतदाता नाम दर्ताको लागि समयावधि ताेकेकाे भएतापनि मतदाता नाम दर्तामा उत्साह र चासाे देखिएपछि ५ दिन थप गरेको थियाे ।

निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले दर्ता गरिसकेका छन् ।

अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ ।

जेन–जी आन्दोलनपछि गठित सरकारले २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेर  तयारी तिब्र बनाएकाे छ । जसका लागि सरकारले १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु गरेको थियो ।