पार्टी एकता घोषणा कात्तिक २० गते हुने

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

बहुचर्चित नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम पार्टी एकता केहिदिन सरेको छ । एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसारनेकपा (एकीकृत समाजवादी) सहित एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ।

‘हाम्रो केन्द्रीय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्नेकुरा भएको छ।’

बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए। उनका अनुसार ‘नीतिगत, वैचारिक र संगठनात्मक विषयहरू मिलाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी’ बैठकको मुख्य एजेन्डा थियो।