पुरुषहरूका लागि प्रजनन स्वास्थ्य समस्या : विज्ञ चिकित्सक र सेवाको अभाव
नेपालमा प्रजनन स्वास्थ्यका सम्बन्धमा महिलाहरूका लागि विभिन्न समस्याका उपचारको व्यवस्था सहज उपलब्ध भएपनि पुरुषहरूका लागि छुट्टै सेवाको अवधारणा विस्तारै विकास हुन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक रूपमा हालै मात्र पुरुषहरूको प्रजनन स्वास्थ्यबारे सातामा दुई दिन उपचार सेवा दिन सुरु गरेको बताएको छ।
अनौपचारिक रूपमा गत वर्षदेखि नै दिइँदै आएको बताइए पनि औपचारिक रूपमा भने हालसालैबाट सेवा दिन थालिएको त्यसका फोकल पर्सन तथा युरोलोजिस्ट डाक्टर भोजराज लुईँटेलले बताएका छन्। विदेशमा पुरुषको प्रजनन स्वास्थ्यको उपचारका लागि एन्ड्रोलोजिस्ट हुने भए पनि नेपालमा एकजना पनि त्यस्तो चिकित्सक नभएको डाक्टर लुइँटेलले बताए।
जनस्वास्थ्यविद् डाक्टर खेम कार्कीले महिला र शिशुको स्वास्थ्यमा धेरै ध्यान दिइँदै गर्दा पुरुषको स्वास्थ्य उपचारको विषय भने छायाँमा परेको अध्ययनबाट पाइएको बताए।
उनले भने- हामीले गरेको एउटा राष्ट्रिय अध्ययनमा यौन दुर्बलता भएका मानिसहरूको सङ्ख्या बढेको पाइयो । ू७० प्रतिशत वयस्क पुरुषहरू र ६७ प्रतिशत वयस्क महिलाहरूमा यौन दुर्बलताको समस्या भएको पाइयो। यदि हामीले पुरुषको स्वास्थ्यबारे उपचार गर्न थालेनौँ भने यसले सामाजिक द्वन्द्व रअपराधहरू बढ्ने पुरुषको यौन जीवनसँग पनि जोडिएको देखियो।
विज्ञानले बाँझोपन वा सन्तान नजन्मनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबरी जिम्मेवार हुने देखाए पनि नेपाली समाजमा महिलालाई मात्रै कारण मानिने र पुरुषलाई त्योसँग जोडेर नहेरिने गरेको डाक्टर कार्कीले बताए।
सन्तान नहुनुमा एक तिहाइ महिलाको कारण हुन्छ, एक तिहाइ महिला पुरुष दुवैको कारण हुन्छ र बाँकी एक तिहाइ पुरुषको कारण हुन्छ। तर हामीले पुरुषको एक तिहाइ कारणलाई त कतै पनि सम्बोधन नै गरेका छैनौँ, उनले भने।
समाजको त्यस्तो बुझाइले गर्दा धेरैजसो पुरुषहरूले प्रजनन स्वास्थ्य समस्यालाई स्विकार नगर्ने र उपचार खोज्ने पनि नगरिएको देखिएको उनले बताए। कतिपयलाई त पुरुष प्रजनन उपचार सेवा हुन्छ र उपचार गर्ने ठाउँ छ भन्ने थाहा नभएको पनि डाक्टर कार्की बताउँछन्। -वीवीसीबाट




