नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। साेमबार लमजुङको बेसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताएका हुन्।
मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्याइएको जनाउँदै उनले सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उनले बताए । आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उनले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताए।
साे अवसरमा मुख्यमन्त्री पाण्डेले अस्पतालकाे सेवा तथा भवनकाे अवलोकन तथा निरिक्षण गरेका थिए ।





