भक्त राना स्मृति चेस प्रतियोगिता सम्पन्न, विजेतालाइ नगदसहित पुरस्कार प्रदान
राजधानीमा जारी भक्त राना स्मृति चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ११ गते उदघाटन गरेको सो प्रतियोगितामा स्विस लिग प्रणालीमा ९ चरणमा खेल भएको थियो । प्रतियोगितामा लामाले ८ अङ्क पाएका छन्।
दुइदिनसम्म चलेको प्रतियोगिताको समापन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले विजेताहरुलाई प्रमाणपत्र र नगद सहित सम्मान गरेका थिए । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो ।
सो अवसरमा उनले देशको परिवर्तनका लागि योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तनमा विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरूको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक पाटोको हिसाबले पनि सहज नरहेको उनले उल्लेख गरे । आफूले यो प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजन जुटाउन पाउँदा गर्व महसुस भएको उनले बताए ।

पुरस्कार वितरण समारोहमा नेकपा माओवादीका खेलकुद इन्चार्ज दीपक कोइराला, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइराला,दिवंगत भक्त रानाकी धर्म पत्नी वर्षा राना मगर, नेपाल बुद्धिचाल सङ्घकी उप महासचिव मोनालिसा खुम्बु र कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्र राई लगायतको उपस्थिति थियो । कार्यक्रम अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष तथा नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईको सभापतित्वमा भएको थियो ।
प्रतियोगिताको मुख्य मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु नेतृत्वको टोलीले प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा ८ अङ्क भएका रुकुमका मिलन रोक्का दोस्रो भए । निखिल चौधरी तेस्रो भए । ७.५ अङ्क भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन पाँचौँ। भएका छन् ।
त्यसैगरी ७ अङ्क भएका भक्तपुरका राजेश कक्षपति, काठमाडौँका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फूर्वा लामा र धादिङका सुवास कुमार गुरुङ दशौँ भएका छन् । उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन् भने नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो भए । चितवनका सन्तोष गौतम बागमती प्रदेशका च्याम्पियन भए । लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए । गण्डकीमा सुशील सुबेदी पहिलो भए । मधेसमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूर पश्चिममा लेखराज भट्टराई पहिलो भए ।
भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ पहिलो भएका छन् । ५५ वर्ष माथिका भुवनेश्वर चौधरी पहिलो भएका छन् । उमेर समूहमा य्–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी । यु–१० मा आयम सुबेदी पहिलो भए । यु–८ मा अङ्कुर पोखरेल पहिलो भए ।
१८०० रेटिङ मुनी राम कार्की पहिलो भए । १७०० मुनी कृश अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलो हुन सफल भए ।




