असारे विकास राेकिएन, यस वर्ष पनि २३% खर्च गरियाे असारमा

मूलखबर संवाददाता
काठमाडौं, ३२ असार

नेपालमा असारे विकासकाे कुरा सधैं उठ्ने गरेका छन् । वपषय उठ्ने र असारे विकासलाई राेक्ने प्रतिवद्वता पनि पटकपटक गरिएको छ तर पनि असारे विकास राेकिएकाे छैन ।

यस वर्ष पनि सरकारले असारे विकासमै जाेड दिएकाे देखिन्छ । आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत रकमान्तर गर्ने र छोटो समयमै ठूलो रकम खर्च गर्ने बेथितिले यस वर्ष पनि निरन्तरता पाएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो दुई महिना (जेठ र असार) मा मात्र हालसम्म भएको कुल खर्चको करिब साढे २३ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब रुपैयाँ खर्च भएको छ । ३० असारसम्म सरकारको कुल खर्च १५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

जसअनुसार असारको ३० दिनमै २ खर्ब ३३ अर्ब रुपैयाँ खर्च भएको छ । यस वर्ष (साउनदेखि ३० असारसम्म) भएको कुल सरकारी खर्चको १५.३७ प्रतिशत हो ।

सरकारले गत माघमा मापदण्ड जारी गरेको थियो । जसमा वार्षिक विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को आर्थिक वर्षमा भुक्तानी दिने गरी दायित्व सार्न नपाइने, पुँजीगत खर्च वृद्धि र प्रभावकारिता ल्याउन सरकारले मापदण्डमा विशेष व्यवस्था गरेको छ ।