
लमजुङको दोर्दी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
लमजुङको दोर्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका ९ वटै वडालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएसँगै पालिकालाई घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार दोर्दी गाउँपालिकामा १६ महिनादेखि २७ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सवै खोपहरु पाइसकेको सुनिश्चितता भएको तथा पूर्ण खोप दिगोपना कायम रहेको अवस्था भएको गाउँपालिकालाई दोर्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पूर्ण खोपका लागि सवै सूचकहरु पूरा भएको र गाउँपालिकाभित्रका तोकिएको उमेर समूहका १ सय ७६ जना बालबालिकाले खोपको मात्रा पूरा गरिसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख एवम् गाउँपालिका खोप समन्वय समितिका सदस्य सचिव आइतमान गुरुङले बताए ।
गाउँपालिकामा बुधबार आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गुरुङले खोप प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार वडा–वडामा घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालवालिकाको पहिचान गरेर उनीहरुलाई खोपको मात्रा पूरा गरेसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिका उपाअध्यक्ष विच्छवहादुर घलेले हरेक बालबालिकाले खोप पाउनु नैसर्गिक अधिकार भएकाले यस विषयमा पालिका गम्भीर रहेको बताए । उनले बालबालिका, जेष्ठ नागरिक, अपांगता तथा महिलाका स्वास्थ्यका सवालमा गाउँपालिकाले प्राथामिकतामा राखेर काम गरिरहेको दावी गरे ।
कार्यक्रममा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, प्रदेश जनस्वास्थ्य कार्यलयका कर्मचारी, स्वास्थ्यकर्मी, स्वस्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, युवा क्लव, आमा समूहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागीले पालिकाभित्रका कुनै पनि बालवालिका खोप पाउनबाट बञ्चित नहुने तथा पूर्ण खोप दिगोपनाको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका खोप समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुजन सुनारले गरेका थिए ।