
रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोना विजयी
स्पेनी ला लिगामा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै रियल म्याड्रिडलाई हराउँदै विजयी बनेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–३ ले पराजित गरेको हो । ‘एल क्लासिको’ मा प्राप्त यस जितसँगै बार्सिलोना उपाधितर्फ उन्मुख भएको छ । रियलबाट केलियन एमबापेले सानदार ह्याट्रिक गरे पनि त्यो आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् ।अब बार्सिलोनालाई लिग उपाधि जित्न एक जित आवश्यक रहनेछ ।
बार्सिलोनाको ३५ खेलबाट ८२ अंक भएको छ र शीर्षमा ६ । रियल ७५ अंकमा दोस्रोमा छ । दुई टिमबीचको दूरी सात अंक रहेको छ । स्टाडियो ओलम्पिकोमा भएको खेलमा रियलले १४ मिनेटभित्र दुई गोलको अग्रता लिएको थियो र एमबापेले पाँचौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि १४ औं मिनेटमा दोस्रो थपे ।
त्यसपछि खेलमा बार्सिलोना छाएको थियो । एरिक गार्सियाले १९ औं मिनेटमा पहिलो गोल फर्काए भने लामिन यामलले ३२ औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । राफिन्हाले ३४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलोपल्ट अगाडि राखे । उनैले ४५ औं मिनेटमा आफ्नो दोस्रो व्यक्तिगत गोल पनि थपे । एमबापेले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
त्यस अगाडि शनिबारको खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई ४–० ले हराएको थियो र त्यससँगै उसले तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको थियो । एट्लेटिकोको ३५ खेलबाट ७० अंक भएको छ । सोसिडाड भने ४३ अंकमा १२ औं स्थानमा रहेको छ । खेलको चारै गोल एलेक्जान्डर सोरलोथका नाममा रह्यो ।
नर्वेली खेलाडीले ११ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरेका थिए । ला लिगा इतिहासमा यो सबैभन्दा छिटो सम्भव तीन गोलको प्रदर्शन हो । यसअघि सन् १९२९ मा युरोपाको चार्ल्स बस्टिट तथा सन् १९४१ मा भ्यालेन्सियाका मुन्डोले १५ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । सोरलोथको चौथो गोल ३० औं मिनेटमा सम्भव भएको थियो । अघिल्लो सिजन पनि भिल्लारियलका लागि खेल्दै सोरलोथले एट्लेटिको म्याड्रिडविरुद्धको ४–४ बराबरीमा चारै गोल गरे । ला लिगा इतिहासमा दुई अवसरमा एकै खेलमा चार गोल गर्नेमा उनीबाहेक रियलका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी र लुइस स्वारेज रहेका छन् ।