
बहसमा जेन–जी र माओवादी अग्रसरता
विश्वका अन्य मुलुक जस्तै नेपालमा जेन–जी पुस्ताले जबर्जस्त रूपमा समाजमा आफ्नो भूमिका र प्रभाव बढाउँदै लगेको देखिन्छ । यो यस्तो पुस्ता हो जो मानव समुदायले आविष्कार गरेका नवीनतम सूचना प्रविधिबाट अभूतपूर्व रूपमा शिक्षित, दीक्षित र प्रभावित छ । जेन–जी पुस्ता एकप्रकारले सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, टिकटक पुस्ता हो ।
हिजोको पुस्ताले समाजमा घटेका घटना, अन्तर्विरोध र परिवेशका आधारमा धारणा बनाउँथ्यो । तर जेन–जी पुस्ताले समाजमा भन्दा पनि सामाजिक सञ्जालमा आउने बहस, तरंग र तुफानका आधारमा दृष्टिकोण निर्माण गर्दछ । यसले समाजका परम्परागत मानकहरू क्रमशः भत्कँदै गएका र नयाँ नयाँ मानकहरू स्थापित हुँदै गएका छन् । यो पुस्ताका लागि हिजोको अर्थशास्त्र, हिजोको समाजशास्त्र र हिजोको राजनीतिशास्त्रका मानकहरूले काम गर्न छाड्दै गएको देखिन्छ ।
यसको सबभन्दा ठूलो प्रभाव राजनीतिक प्रणाली र निर्वाचनहरूमा देखिन थालेको छ । ०७९ को आमनिर्वाचनमा जेन–जी पुस्ताको उदयसँगै थुप्रै परिघटनाहरू देखापरे । नयाँ नयाँ राजनीतिक दल र नेतृत्वको रातारात उदय भयो । यो विगतमा दल र नेता जन्मने तरिका विल्कुल भिन्न थियो । वर्षार्ैं जेल बसेका, लामो संघर्ष गरेका र पार्टी जीवनको शृंखलाबद्ध अभ्यास गरेका मानिस नेता बन्ने चलन ०७९ को चुनावमा एकहदसम्म भत्कियो । सामाजिक सञ्जालका विभिन्न माध्यममा छाएका मानिसहरू रातारात नेता भए । जेन–जी पुस्ताको चासो र हस्तक्षेपले चुनावलाई विभिन्न तरहले प्रभावित गरेको देखियो ।
आगामी ०८४ सालको चुनावमा जेन–जी पुस्ताको हस्तक्षेप अझ बढेर जानेछ । उनीहरू आफू स्वयं मात्र होइन आफ्नो परिवार र समाजलाई समेत प्रभावित गर्ने ठाउँमा पुग्नेछन् । तर उनीहरूले पार्ने प्रभाव सकारात्मक नै मात्र हुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन । यो पुस्तामा हुर्किएको एउटा डरलाग्दो मनोवृत्ति के हो भने यो पुस्तालाई सत्य र तथ्यभन्दा बढी ‘भाइरल’ विषयले गाँजिरहेको देखिन्छ । यसका नकारात्मक आयामबाट बच्नका लागि सूचना प्रविधि साक्षरता, मिडिया साक्षरता र डिजिटल साक्षरता बढाउनु आवश्यक छ ।
विगतमा युवा पुस्ताको राजनीति र निर्वाचनमा चासो कम थियो । तर जेन–जी पुस्ताको आगमनसँगै राजनीति र निर्वाचनमा युवा सहभागिता र सचेतना गुणात्मक रूपले बढेको छ । जेन–जी पुस्ताले आगामी चुनावमा धेरैको हिसाब बिगार्न सक्छ र नयाँ–नयाँ हिसाब कायम गर्न सक्छ ।
जेन–जी पुस्ता आफूले सोचेजस्तो र खोजेजस्तो समाज र राजनीति चाहन्छ । यसै पृष्ठभूमिमा जनयुद्ध नदेखेको, नभोगेको यो पुस्तासँग कसरी आफ्नो विचार, राजनीति र नेतृत्व स्थापित गर्ने भन्ने सवालमा पहिलो पटक माओवादी बैठकमा महत्त्वपूर्ण छलफल भएको छ । नेकपा माओवादी केन्द्रकाे हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले यस विषयलाई प्राथमिकताका साथ समेटेको छ ।
