अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत : संघर्षको मुख्य माेर्चा सदन बनाइने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्पः आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रतिवेदन पेस गरेका छन् ।
राजधानी काठमाडौंकाे धुम्बाराहीमा आइतबार शुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले छलफलका लागि साे लिखित राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति र कार्यक्रम तथा याेजनाकाे नीतिगत र कार्यक्रमगत पक्षमा विस्तृत प्रकाश पारिएको छ ।
प्रतिवेदनमा विश्व महाशक्ति रहेको अमेरिका र बन्दै गरेको चिनकाे बारेमा चर्चा गर्दै अबकाे भुराजनीतिक संघर्षको केन्द्र दक्षिण एशिया बन्न सक्ने आंंकलन गरिएको छ ।
प्रचण्डले प्रतिवेदनमा गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस, एमालेसँग सहकार्य गर्नु उचित भए पनि अब एक्लै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘कांग्रेस र एमालेजस्ता परम्परागत शक्तिलाई वर्तमान परिवर्तन बढी भएको लागेको छ । कतिपय मुद्दामा यिनीहरुको पुरातन शक्तिसँग स्वर मिल्न गएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘नयाँ भन्नेहरुले पनि नयाँ विचार, राजनीतिक कार्यशैली र नेतृत्वको भरपर्दो विकल्प दिन सकेका छैनन् ।’
प्रतिवेदनमा अब गणतन्त्रलाई आफ्नो अनुकूल प्रयोग गरी समाजवादतिर अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकाे छ । माओवादीको चुनबाङ बैठकको निर्णयले देशमा गणतन्त्र स्थापना गर्न भूमिका खेलेको सन्दर्भ उल्लेख गर्दै प्रतिवेदनमा माओवादीले नै समाजवादी गणतन्त्र स्थापनामा नेतृत्व गर्ने निष्कर्ष छ । ‘जनताले कमीकमजोरीका बाबजुद हाम्रो पार्टीलाई नै क्रान्तिकारी विकल्पको रुपमा हेरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘हाम्रो काँधमा लोकतन्त्रिक गणतन्त्रलाई सर्भिसिङ गर्ने जिम्मा आएको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प वैज्ञानिक समाजवादी गणतन्त्र हो । हाम्रो अगाडि पूरै घुम्ती आएको छ ।’
प्रचण्डले मुख्य गरी सदनको मोर्चालाई केन्द्रमा राखेर अघि बढ्ने प्रस्ताव केन्द्रीय समितिमा गरेका छन् । ‘ सरकार, सदन र सडक तीनवटा संघर्षको माेर्मुचा भएतापनि अहिले मुख्य माेर्चा सदन संघर्षको मोर्चा हो । आवश्यक परे सडक पनि हुन सक्छ,’ उनले भनेका छन्, ‘त्यसका लागि हामीले तराई/मधेश र मध्यपहाडी राजमार्गमा अभियान चलाउनुपर्छ ।’ उनले स्थानीय तहको उपनिर्वाचनले एमालेलाई धक्का पुगेको जनाएका छन् । ‘उपनिर्वाचनले एमालेलाई धक्का दिएको, कांग्रेसलाई कमजोर बनाएको र हामी (माओवादी) लाई उत्साहित बनाएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रचण्डको प्रस्तावमाथि साेमबार सहभागीले धारणा राख्नेछन् भने २४ गते बैठक समापन हुनेछ ।