लैंगिक हिंसाको चक्र
केही दिनअघि एउटा निजी संस्थामा कर्मचारी बाहिरिने क्रम निकै बढेको थियो । सहकर्मीले काम छाडेको थाहा पाएपछि रूपा (नाम परिवर्तन) ले आफू सोही स्थानमा रहेर काम गर्न इच्छुक रहेको भन्दै माथिल्लो पोस्टकै निकट व्यक्तिलाई फोन गरिन् ।
चिनजानकै भएकाले कुरा गर्न खासै असहज भएन र ती कर्मचारीले माथिल्लो निकायमा सो कुरा राख्ने आश्वासन पनि दिए । रूपा त्यता भए राम्रै, नभए अहिलेकै काम छँदै छ नि भनेर बसिन् । उनले जसलाई फोन गरेकी थिइन्, ती कर्मचारीमाथि भर गर्न सकिने अवस्था रहेकाले केही आशावादी थिइन् ।
केही दिनमा त उनले चिनेकै एक पुरुष साथी पो त्यो पदका लागि नियुक्त भएछन् । सामाजिक सञ्जालमा त्यही कार्यालयमा काम गर्ने साथीले फोटो राखेपछि उनले थाहा पाइन् । त्यसपछि रूपाको मनमा कुरा खेल्न थाल्यो, मैले त्यही ठाउँमा काम गर्न इच्छुक रहेको जानकारी गराउँदा पनि चिनेकै पुरुष साथीलाई राखिएछ ।
उनी अझ बढी सोचमग्न भइन्– मैले फोन गरेका व्यक्तिले म महिला भएकै कारण पो विश्वास गरेनन् कि ? लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनले झट्टै आफूमाथि नजानिँदो पाराले लैंगिक हिंसा भएको खुट्याइहालिन् ।
विभेद भनेकै हिंसा हो । कुनै कर्मचारीले आफूभन्दा तल्लो पोस्टका कर्मचारीलाई फरक व्यवहार गर्नु पनि लैंगिक हिंसा नै हो । महिला र पुरुष दुवैले उत्तिकै काम गर्ने हो । महिला भएकै कारण मैले यो काम गर्न सक्दिनँ भनेर कोही कर्मचारी पन्छिएको कतै सुनिएको छैन ।
लिंगकै आधारमा यदि एक व्यक्तिले गरेको व्यवहार अर्कोका लागि असहज बनिदिन्छ भने त्यो नै लैंगिक हिंसा हो । चाहे त्यो पुरुषले महिलालाई गर्ने होस् वा महिलाले महिलालाई नै गर्नै व्यवहार ।
बरु उल्टै महिला कर्मचारीले गरेको काम अझ बढी विश्वास गर्न सकिने र काम सम्पादन पनि राम्रो हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । एउटै कार्यालयमा काम गर्ने एउटै तहका पुरुष र महिला कर्मचारीलाई माथिल्लो तहका कर्मचारीले गर्ने व्यवहार फरक हुने गरेको जुनसुकै क्षेत्रमा काम गर्ने महिलाले अनुभव गरेका छन् । लिंगकै आधारमा सामान्य मजदुरी गर्ने व्यक्तिको पनि ज्याला फरक हुने गरेको छ । यो विषय श्रम दिवसका दिन ब्रगेल्ती उजागर हुने गरेका छन् । राजनीतिमा पनि लिंगकै कारण माथिल्लो पदमा आफूलाई मौका नदिइएको महिला नेताहरूले नै गुनासो गर्दै आएका छन् ।
पछिल्लो समय समाजमा हिंसाको स्वरूप बदलिँदो छ । फोनमार्फत अनावश्यक म्यासेज पठाउने, पुरुषले साथमा श्रीमान् नभएका महिलासँग सामीप्यता बढाउन खोज्ने जस्ता प्रवृत्तिले कतिपयको वैवाहिक सम्बन्धमा दरार आएको छ । राम्रै सम्बन्धमा पनि अविश्वासको खाडल बन्न थालेको छ ।
राम (नाम परिवर्तन) को घर राम्रोसँग चलिरहेको थियो । उनले एक असल केटीलाई श्रीमतीका रूपमा भित्र्याएका थिए । केही समयपछि रामको सम्पर्क स्कुल पढ्दाखेरि मन पराएकी केटीसँग भयो, दुवै घण्टौं फोनमा व्यस्त हुन थाले । रामकी श्रीमतीलाई शंका लाग्यो ।
त्यसपछि उनीहरूबीच विवाद बढ्न थाल्यो । यो घटनामा महिला–पुरुष दुवैको गल्ती देखिन्छ । पछिल्लो समय यस्ता घटना धेरै छन् तर परिवार, समाज आदिको डरले बाहिर आउँदैनन् । त्यस्ता परिवारसँग जोडिएका अन्य व्यक्तिले विभिन्न खालको मानसिक समस्या सामना गर्नुपरेको छ ।
कतिपय अवस्थामा बिहे गर्नेबित्तिकै पुरुष वैदेशिक रोजगारीमा जाने हाम्रै समाजमा उदाहरण छन् । तर बिहेपछि जैविक आवश्यकता पूरा नहुँदा वैदेशिक रोजगारीमा गएका धेरैजसोका श्रीमतीले अर्कैसँग बिहे गरेको घटना पनि देख्ने, सुन्ने गरेका छौं । यो कदमले महिला–पुरुष दुवै लैंगिक हिंसामा परेको देखिन्छ । त्यसकारण पनि अवस्था, आवश्यकता बुझेर मात्र महिला, पुरुषले अगाडिको बाटो तय गर्नुपर्ने देखिएको छ । यस्ता घटनाले समाजलाई कुन दिशातर्फ लैजान्छ ? दुवैले सोच्नुपर्छ ।
लिंगकै आधारमा यदि एक व्यक्तिले गरेको व्यवहार अर्कोका लागि असहज बनिदिन्छ भने त्यो नै लैंगिक हिंसा हो । चाहे त्यो पुरुषले महिलालाई गर्ने होस् वा महिलाले महिलालाई नै गर्नै व्यवहार । आफूलाई अरूले गरेको व्यवहार चित्त बुझ्दैन भने आफूले अरूलाई गरेका त्यस्तै व्यवहार पनि चित्त बुझ्दैन भनेर हेक्का राख्नुपर्ने बेला आएको छ । लैंगिक हिंसाका घटनाको कतिपय उजुरी दर्ता नै नभएका विषय पनि सार्वजनिक हुने गरेका छन् । तर दर्ता भएका उजुरीमाथि न्याय भयो कि भएन भन्ने विषय भने खासै सार्वजनिक हुने गरेका छैनन् ।
महिलाबिनाको घर/समाज हामी कल्पना गर्न सक्दैनौं । महिलाले घर, परिवार सबै झेलेर बाहिरको काम पनि गर्न भ्याउँछिन् । घरको हरेक अवस्थासँग जुध्ने सामर्थ्य महिलासँगै हुन्छ । महिलाले व्यक्ति र परिवारलाई मिलाएर राख्न जान्दछिन् । भनिन्छ, महिला धर्ती हुन् । त्यसकारण पनि यो १६ दिनको अवधिमा मात्रै नभएरै हामीले हरपल आफूले गरेको व्यवहारलाई नियाल्नुपर्ने अवस्था आइसकेको छ ।
राजनीतिमा लामो समय व्यतीत गरेका महिला नेताले पनि विभेदीकरणको सामना गर्नुपरेको बताउने गरेका छन् । महिला–महिलाबीच एकता नहुँदा पनि राजनीतिक क्षेत्रमा लैंगिक हिंसा कायम रहेको उनीहरूको भनाइ छ । लामो समय राजनीतिमा लागे पनि पदका लागि नेतृत्वले कन्जुस्याइँ गर्ने महिला नेता गुनासो गर्छन् । मूल नेतृत्व त परको कुरा ‘उप’ नै पाउन पनि ठूलो लडाइँ लड्नुपरिरहेको छ । संवैधानिक रूपमा प्राप्त अधिकारलाई व्यवहारमा लागू गर्न फेरि एक हुनुको विकल्प छैन । यही उद्देश्यसहित विभिन्न क्षेत्रमा आबद्ध महिलाहरूले आ–आफ्नो स्थानबाट साझा पहल गर्न जरुरी देखिएको छ । (सान्दर्भिक लागेकाले कान्तिपुरबाट साभार-सं)