![](https://mulkhabar.com/wp-content/uploads/2019/11/kedney_failure.jpg)
मिर्गौला के कारणले फेल हुन्छ ? कसरी बचाउने ?
मिर्गौला मानिसको अत्यन्तै महत्वपूर्ण भित्री अंग हो । मानिसको दुईवटा मिर्गौला हुन्छ । एउटा दायाँ र अर्को वायाँ । मिगौलालाई अंग्रेजीमा किड्नी भनिन्छ । मिर्गौला रोग लाग्यो भने मानिसहरुले साधारणतया किड्नी रोग लाग्यो भन्छन् भने मिर्गौलाले काम गर्न छाड्ने अवस्थालाई किड्नी फेल भयो भन्ने गरिन्छ । यसकारण आम मानिसहरुले मिर्गौला भन्दा वढि किड्नी भनेरै बुझ्ने गर्दछन् ।
किड्नीको काम रगतलाई शुद्ध पार्ने हो । हाम्रो शरीरमा भएको रगतलाई किड्नीमार्फत शुद्ध गरिन्छ । उसले राम्रो काम गर्दा मानिस स्वस्थ्य हुन्छ । मिर्गाला विग्रीयो भने वा काम गर्न छाड्यो भने फेर्न पनि सकिन्छ यसलाई मिर्गौला प्रत्यारोपण वा अंग्रेजीमा किड्नी ट्रान्सप्लान्ट भनिन्छ ।
मानिसको दुईवटा मध्ये एउटा मात्रै मिगौंला स्वस्थ भयो भने पनि मानिस स्वस्थ नै वा साधारण अवस्थामै काम गर्न सक्छ । यसैलाई आधार बनाएर नेपालीले गरीबीको कारण आफ्नो मिगौला बेचेको थुप्रै घटनाहरु सार्वजनीक भएका छन् । नेपालमा मिर्गौला बेच्नुलाई अबैध मानिन्छ । तसर्थ नेपालीले दलालको सहारामा भारतमा गई मिर्गौला बेच्ने गरेको देखिएको छ । नेपालमा भने आफ्नै परिवारभित्रको सदस्यले कानुनी रुपमा जानकारी गराएर मिर्गौला प्रत्यारोपण गराउन सक्ने व्यवस्था छ ।
किड्नी के कारणले फेल हुन्छ ?
मिर्गौला दुई प्रकारले फेल हुन्छ– अकस्मात् र क्रमिक रूपमा । विशेषज्ञहरूका अनुसार निमोनिया, छातीको संक्रमण र झाडापखाला जस्ता रोगहरूले आकस्मिक रूपमा मिर्गौला फेल हुनसक्छ । दीर्घकालीन मिर्गौला रोगको अर्को प्रमुख कारणमा मधुमेह हो । अध्ययनहरूले देखाए अनुसार मधुमेह भएका ७०र८० प्रतिशत व्यक्तिमा १०र१५ वर्षभित्र मिर्गौला फेल हुने जोखिम रहन्छ ।
विशेषगरी आप्रवासी कामदारहरूमा देखिएको प्रोटिन चुहावटको समस्याले पनि मिर्गौला फेल हुने गरेको छ । यस्तो अवस्थामा पिसाबमा प्रोटिनको मात्रा बढ्दै जाँदा पत्थरी र उच्च रक्तचापको समस्या देखा पर्छ, जसले मिर्गौलालाई थप क्षति पुर्याउँछ ।
मिर्गौैला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेका अनुसार एकपटक मिर्गौला फेल भइसकेपछि यसलाई पूर्ण रूपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा बिरामीसँग दुई विकल्प हुन्छन्– मिर्गौला प्रत्यारोपण वा नियमित डायलाइसिस ।
यद्यपि मिर्गौला प्रत्यारोपण सबैभन्दा उत्तम विकल्प मानिए पनि यो सबैका लागि सहज र सुलभ छैन । त्यसैले धेरै बिरामी जीवनभर डायलाइसिसमा निर्भर रहनुपर्ने अवस्था छ, जुन जनस्वास्थ्यको दृष्टिकोणले गम्भीर चुनौती बनेको छ ।
‘रगतमा पोटासियमको मात्रा बढ्न थालेपछि मुटु नै बन्द हुन्छ । मिर्गौैलाले काम गर्न छाडेपछि पिसाब नभएर फोक्सोमा पानी जम्मा हुन थाल्छ’ डा। काफ्ले भन्छन्, ‘शरीरमा अक्सिजन प्रवाह नभएर मानिसको ज्यानै जान्छ ।’ त्यो अवस्थामा निमोनिया, संक्रमण र हृदयघातको सम्भावना पनि बढ्छ ।
डा। काफ्लेका अनुसार मिर्गौला बिग्रिने प्रमुख कारण तत्व उच्च रक्तचाप हो । विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पनि नेपालमा करिब ४७ लाखमा उच्च रक्तचापको समस्या रहेको देखाउँछ । जसमध्ये ४ लाख मानिस उपचारको दायरामा आएका छन् । त्यसमध्ये पनि २ लाखको उच्च रक्तचाप नियन्त्रणमा आएको बाँकी ४५ लाखमा यो समस्या नियन्त्रणमा आएको छैन ।
विशेषज्ञहरूका अनुसार मधुमेह भएका ४० प्रतिशत बिरामीमा मिर्गौला सम्बन्धी समस्या देखिने गरेको छ । यसैगरी घुँडा, कम्मर र जोर्नी दुखाइका लागि नियमित रूपमा प्रयोग गरिने ‘पेनकिलर’ औषधिले पनि मिर्गौलामा नकारात्मक प्रभाव पार्छ ।
प्रत्येक वर्ष करिब तीन हजार नयाँ मिर्गौला बिरामी थपिने अनुमान गरिएको छ । ‘प्रत्यारोपणको प्रतीक्षामा हजारौं बिरामी छन्, तर वार्षिक सय जनाभन्दा बढीको प्रत्यारोपण सम्भव छैन’ काफ्लेले भने, ‘धेरै बिरामी प्रत्यारोपणको प्रतीक्षामै मृत्युवरण गर्न बाध्य छन् ।’
मिर्गौला कसरी बचाउने ?
बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। हरेक ६ महिना र १ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्नुपर्छ। यी सबै स्क्रिनङ परीक्षण हुन्। मिर्गौलाको रोग अरू रोगजस्तो सजिलै पत्ता लाग्दैन किनभने क्रियाटिन बढ्नलाई मिर्गौला ७० देखि ८० प्रतिशत बिग्रिनुपर्छ।
त्यसैले पिसाब, रगत सबैको परीक्षण गरे मिर्गौला रोगलाई सुरूकै स्टेजमा पत्ता लगाउन सकिन्छ। उच्च रक्तचाप हुनेहरूले नियन्त्रण गर्नुपर्छ। सम्बन्धित फिजिसियनकहाँ गएर बेलाबेलामा परीक्षण गर्नुपर्छ। डाइविटिजका बिरामीले पनि खानामा ध्यान दिने अनि व्यायाम गर्नुपर्छ। रगतको नसा स्वस्थ राख्न कोलस्ट्रोल नियन्त्रण गर्न व्यायाम गर्नुपर्छ। धुमपान गर्नु हुँदैन। धुमपानले फोक्सोलाई मात्र असर गर्ने होइन,मिर्गौलामा जाने रगतको नशा पनि सुकाइदिन्छ।
धुलो, धुँवा वातावरणीय प्रदुषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ। प्रशस्त पानी पिउनु पनि महत्वपूर्ण छ। पानी धेरै पिउँदैमा मिर्गौला स्वस्थ हुन्छ भन्ने होइन। कुनै पनि ठाउँको मौसम अनुसार पानी पिउनु पर्छ। सामान्य रूपमा दैनिक दुईदेखि साढे दुई लिटर पिसाब बाहिर आउने गरी पानी पिउनु पर्छ। काठमाडौंलगायतका चिसो ठाउमा यो मात्राले पुग्छ भने तराईलगायतका अन्य क्षेत्रमा त्यही अनुपातमा पानी पिउनुपर्छ।
सजिलो भाषामा भन्ने हो भने मुटुलाई स्वस्थ जस्तो खानाले राख्छ त्यस्तै खाना खानुपर्छ। फलफूल हरियो सागसब्जीको मात्रा बढाउनु पर्छ। जसले रोग प्रतिरोधात्मक एन्टीअक्सिडेन्टको मात्रा बढाउँछ। रक्सी, चुरोट, ड्रग्सबाट सधैं टाढै रहनु पर्छ। सन्तुलित भोजन गर्नुपर्छ, जंक फुडलाई बन्द गर्नुपर्छ। खाडी राष्ट्रमा रोजगारीमा जानेले पानीभन्दा कोक, फेन्टा बढी खाने भएकाले त्यसको असर परेको छ।
जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ। सबैभन्दा राम्रो शुद्ध पानी पिउनु हो। कागती पानी, दही मोहीले मिर्गौलालाई फाइदा गर्छ। अत्याधिक व्यायामले पनि मिर्गौलालाई असर गर्न सक्छ। नियमित व्यायाम चाहिन्छ। वर्षमा एक पटक मसल च्यातिने गरि व्यायाम गरे त्यसले किड्नीलाई असर गर्छ। सन्तुलित व्यायाम गर्ने तर एक्कासी धेरै गर्ने होइन। कुनै पनि अतिले खति गर्छ। व्यायाम गर्नुस्, हरेक दिन गर्नुस् अथवा हप्ताको एक(दुई चोटी मिलाएर गर्नुस् तर एकै पटकमात्र धेरै गह्रौं व्यायाम नगर्नुस्।
![](https://mulkhabar.com/wp-content/uploads/2024/08/Hardik-850.150-scaled.jpg)