दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मूलखबर संवाददाता
हेटाैंडा, १० कात्तिक

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन् ।

हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिनुभयो ।

दसैँको बिदामा हरेक वर्ष पर्यटकहरूको चाप बढ्ने गरेको बताउँदै उहाँले विशेष गरी दसैँको टिकाको दिन पछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटकहरू स्मारकमा आउने गरेको जानकारी दिनुभयो ।
एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको सहिद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

त्यस्तै विभिन्न जनावरहरू रहेको मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन् ।

दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला हुने जानकारी दिँदै लेखा अधिकृत बिडारीले वर्षको ३६५ दिन नै स्मारक खुल्ने गरेको जानकारी दिनुभयो । दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशबापत काटेको टिकटबाट रु नौ लाख ३७ हजार ८६५ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।