ट्रम्पबाट नेपालले के अपेक्षा गर्ने ?

डा. देवराज अर्याल

विश्व रङ्गमञ्चमा युद्ध, अशान्ति, अविकास र असन्तुलनको तुवाँलो लागिरहेका बेला महाशक्ति देश अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन भएको छ । यही नोभेम्बर ५ मा भएको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्पले इलेक्टोरल भोटमा ‘न्यूनतम सीमा २७०’ भन्दा बढी मत प्राप्त गरी शानदार विजय हासिल गरेका छन् । अमेरिकाको राष्ट्रपति पदमा ट्रम्पको यो दोस्रो पटकको विजय हो । यसअघि ट्रम २०१६ मा पनि राष्ट्रपति पदमा निर्वाचित भएका थिए । २०१६ को निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिटनसँग प्रतिस्पर्धा गरेका थिए भए २०२४ मा सोही पार्टीका उम्मेदवार कमला ह्यारिससँग प्रतिस्पर्धा गरे ।

अमेरिकाको संविधान अनुसार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा उक्त पदको जिम्मेवारी जनवरी २० बाट समाल्ने छन् । यद्यपि, निर्वाचन परिणाम सार्वजनिक भएसँगै सम्पूर्ण भूमण्डलभर आगामी भविष्यका बारेमा कौतूहलता जागृत भएको छ । राष्ट्रपति ट्रम्पको व्यक्तित्व, विगतको छवि, बलियो इच्छाशक्ति, निर्णय क्षमता र निर्भीक विशेषताका कारण उनको पुनरागमले विश्व जगत्मा सनसनी पैदा गर्नु र कौतूहलता सिर्जना गर्नु स्वाभाविक पनि हो । तथापि, निर्वाचनपछिको पहिलो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो यात्रा समृद्धितर्फ लक्षित हुने सङ्केत गरेका छन् । उनले भनेका छन्– “अब अमेरिकामा स्वर्ण युग सुरु भएको छ । यो स्वर्णयुगको यात्रा सर्वाधिक महìवको राजनीतिक यात्रा हुने छ ।” राष्ट्रपति ट्रम्पले अमेरिकालाई अझ महान्, शक्तिशाली र एकताबद्ध बनाउने उद्घोषसमेत गरेका छन् । यसैबिच ट्रम्पले इनर्जीको मूल्यमा ५० प्रतिशतले कटौती गर्ने र ओभरटाइम काम गर्नेहरूमा कर नलाग्ने जस्ता साहसी निर्णयसमेत गरेका छन् ।

नेपाल र अमेरिकाको सम्बन्ध भनेको आर्थिक समृद्धिको सवालमा बढ्ता केन्द्रित हुनु पर्छ । नेपालले अमेरिकाबाट बढीभन्दा बढी लाभ हासिल हुने सम्भावनाको परियोजना निर्माण गरी अमेरिकाबाट सहयोग प्राप्त हुने वातावरण विकास गर्नु पर्छ ।

अर्कोतर्फ राष्ट्रपति ट्रम्पले निर्वाचनका बेलामा केही महत्वपूर्ण वाचा गरेका छन् । विशेष गरी अमेरिकी इतिहासमा आप्रवासीको निर्वासन, सङ्घीय प्रशासन, जवलायुसम्बन्धी नीतिमा स्थिरता, सङ्घीय स्वास्थ्य एजेन्सीहरूको पुनर्निर्माण, स्वदेशी उत्पादन, आयात व्यापारमा नयाँ शुल्क, परराष्ट्र मामिला र शिक्षा प्रणालीमा वैचारिक परिवर्तन गर्ने एजेन्डा छन् । निर्वाचनको सिलसिलामा ट्रम्पले गरेका उल्लिखित वाचा र सवालका कारणले आगामी दिनमा अमेरिकी नीति थप कठोर हुने हो कि भन्न संशय पैदा भएको छ ।

राष्ट्रपति ट्रम्पको बढ्ता जोड व्यापारमा छ । यसका लागि ट्यारिफको कुरा अगाडि सारेका छन् । त्यसमा पनि तीन ट्रिलियन डलर बराबरको वस्तु तथा सामान आयातमा १० देखि २० प्रतिशत र सबै चिनियाँ सामानमा ६० प्रतिशत ट्यारिफ लगाउने भन्ने विषय जटिल छ । राष्ट्रपति ट्रम्पले यस्तो नीति अख्तियार गरे भने त्यसको असर विश्वभरि नै पर्ने छ । नेपालको छिमेकी देश भारतमा पनि ट्यारिफको असर सिधा पर्ने देखिन्छ । यहाँनेर उल्लेखनीय पक्ष के छ भने– छिमेकी देश चीन र भारतमा पर्ने जाने आर्थिक प्रभावको असरबाट नेपाल पनि अछुतो रहन सक्दैन ।

डा. देवराज अर्याल

आर्थिक पक्षका साथसाथै विश्व राजनीतिको धमनीसँग जोडिएका ट्रम्पका उल्लिखित एजेन्डा र वाचाको कारणले गर्दा अहिले उनको पुनरागमन विश्वका लागि चासो बन्न पुगेको छ । तथापि, चीनले भने ट्रम्पको विजयलाई हार्दिक स्वागत गरेको छ । चिनियाँ प्रवक्ता उनिङका अनुसार–

‘चीन र अमेरिकाको सम्बन्ध पहिले जस्तो थियो अब पनि सोही अनुसार अगाडि बढ्ने छ । चीन र अमेरिकाको सम्बन्ध शान्ति र सम्मानको स्तम्भमा अडेको छ ।’ चीन वर्तमान विश्व रङ्गमञ्चमा सर्वाधिक आवादी भएको र उदीयमान अर्थतन्त्र भएको महाशक्ति देश हो ।

त्यसै गरी नेपालको अर्को छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डोनाल्ड ट्रम्पको विजयमा खुसी हुँदै शुभकामना र बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग आफ्नो कार्यशैलीको केमेस्ट्री मिल्नेसमेत उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले दुनियाँमा शान्ति, स्थिरता र समृद्धिको यात्रालाई बढावा दिन आफू राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्न आतुर रहेको सन्देश दिएका छन् । भारत वर्तमान विश्व व्यवस्थामा सर्वाधिक आवादी रहेको दोस्रो देश हो । आर्थिक विकास र समृद्धिको हिसाब भारत पनि उदीयमान देशको सूचीमा रहेको छ । भारतको आर्थिक वृद्धि ६।८ प्रतिशतको हाराहारीमा छ । स्मरणीय पक्ष के रहेको छ भने यति बेला जसरी भारत र चीनको आर्थिक विकासको ग्राम उच्चविन्दुमा रहेको छ, त्यसको तुलनामा अमेरिकाले आफ्नो अर्थव्यवस्थालाई बलियो बनाउन साहसिक निर्णय लिनु पर्ने घडीमा आएको छ । कोरोना महामारीपछि अमेरिकाको अर्थतन्त्रमा मन्दीको अवस्था सिर्जना भएको छ । आर्थिक वृद्धि तुलनात्मक रूपमा न्यून रहेको छ । यस्तो अवस्थामा आर्थिक रूपमा शक्तिशाली र उदीयमान देशसँग मिलेर अगाडि बढ्न सकेमा अमेरिकी अर्थतन्त्रले पुनः तीव्रताका साथ गति लिने आकलन गरिएको छ ।

राष्ट्रपति ट्रम्पको पुरागमनसँग सरोकार राखिएको अर्को महìवपूर्ण विषय भनेको परराष्ट्र मामिला हो । अमेरिकाले अपनाउने विदेश नीतिका कारण समग्र विश्व व्यवस्थामा गहिरो प्रभाव पर्ने गर्छ । यस अर्थमा अमेरिकाको विदेश नीतिलाई विश्व समुदायले चासो र अर्थपूर्ण मान्दै आएको छ । यति बेला एकातिर रुस र युक्रेनका बिचमा युद्ध चलिरहेको छ भने अर्कोतिर इजरायल लेबनानबिचको द्वन्द्वले मानिसलाई दुःख दिएको छ । यस पृष्ठभूमिमा ट्रम्पको आगमन रुस–युक्रेन युद्ध समाप्तिका लागि सहयोगी हुने अपेक्षा राखिएको छ । यसैबिच रुसले राष्ट्रपतिमा ट्रम्पको विजयमा बधाई ज्ञापन गरेको छ । रुसी प्रवक्ता दिमीत्री पेस्कोभले चालु युक्रेन युद्ध खतम गर्न अमेरिकाले भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

यसै गरी युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्सकीले राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका अझ मजबुत हुने विश्वास व्यक्त गर्नु भएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै रुस र युक्रेनबाट प्रतिक्रिया आउनु आफैँमा अर्थपूर्ण छ, त्यसमा पनि दुवैतर्फबाट आएको प्रतिक्रिया सकारात्मक छ ।

विश्व परिवेशमा हेर्दा अहिलेको अर्को जटिल समस्या भनेको मध्यपूर्वको अशान्ति हो । राष्ट्रपति ट्रम्पको पुनरागमनले मध्यपूर्वको वर्तमान अवस्थामा काफी प्रभाव पार्ने सम्भावना रहेको अड्कल काटिएको छ । ट्रम्प यस मामलामा अलि बढी सचेत रहन सक्छन् । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति ट्रम्पको विजयलाई सानदार भनेका छन् । साथै उनले ट्रम्पको कार्यकालमा इजरायल–अमेरिकाको सम्बन्ध स्वाभाविक रूपमा थप बलियो हुने बताएका छन् । यद्यपि युद्ध अन्त्य गर्ने विषयमा भने दुवै तर्फबाट ठोस प्रतिक्रिया आएको छैन ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदै गर्दा माथि उल्लेख गरिएका विषय चासोलाग्दा छन्, जसले वर्तमान अन्तर्राष्ट्रिय सञ्चारको आयामलाई गतिमान बनाउने छ । यहाँनेर अर्को महत्वपूर्ण विषय के पनि छ भने अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनमा ‘कोर’ र ‘पेरिफेरि’ को अवधारणामा संयुक्त राज्य अमेरिका अहिले पनि ‘कोर’ मा रहेको महाशक्ति हो । जसको असर पेरिफेरिमा पर्ने गर्छ । यो विषयको निर्धारण अमेरिकाले तर्जुमा गर्ने नीतिले गर्छ । अब अमेरिकाले तय गर्ने नीतिको कारणले विश्वबजारमा माग–आपूर्ति, आयात–निर्यात र विचार विनिमयको आयाममा नयाँ आकार आउने छ ।

जहाँसम्म नेपालको विषय छ, संयुक्त राज्य अमेरिका नेपालसँग औपचारिक रूपमा द्विपक्षीय सम्बन्ध विकास गर्ने अग्रपङ्क्तिको देश हो । नेपाल र अमेरिकाको बिचमा औपचारिक सम्बन्ध कायम भएको आठ दशक हुन लागिसकेको छ । भौगोलिक, आर्थिक र सामरिक आधारमा विशाल मुलुक भए पनि अमेरिकाले नेपालप्रति सदैव सम्मानको आधारमा सम्बन्ध विकास गर्दै आएको छ । यस बिचमा ह्वाइटहाउसमा धेरै पटक नेतृत्व परिवर्तन भयो । तथापि नेपालको विषयमा अमेरिकाले गर्दै आएको सहयोगमा सङ्कुचन गरिएको छैन । अमेरिकाले नेपाललाई शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक समाज निर्माण गर्न मद्दत गर्ने उद्देश्यमा आधारित भएर सम्बन्ध विकास गर्दै आएको छ । यही तथ्यलाई हृदयङ्गम गरी राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित अमेरिकाका राष्ट्रपतिको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वाससहितको सन्देश दिनुभएको छ ।

नेपाल र अमेरिकाको सम्बन्ध भनेको आर्थिक समृद्धिको सवालमा बढ्ता केन्द्रित हुनु पर्छ । नेपालले अमेरिकाबाट बढीभन्दा बढी लाभ हासिल हुने सम्भावनाको परियोजना निर्माण गरी अमेरिकाबाट सहयोग प्राप्त हुने वातावरण विकास गर्नु पर्छ । साथसाथमा परियोजना पूर्णता दिन उपयुक्त तरिकाले खर्च गर्ने क्षमताको विकास गर्न सक्नु पर्छ । वैदेशिक सहयोगलाई परिचालन गर्ने सन्दर्भमा परियोजना निर्माण र खर्च गर्ने क्षमतामा नेपालले दक्षता देखाउन सकेको छैन । यो पक्ष अहिलेको गम्भीर विषय हो । पछिल्लो समय अमेरिका र नेपालले व्यापार र लगानी अभिवृद्धि गर्न द्विपक्षीय वार्ताका लागि एक मञ्च प्रदान गर्दै, विशेष व्यापार मुद्दामा छलफल गर्न र दुई देशबिच थप व्यापार सम्झौता प्रवर्धन गर्न व्यापार र लगानी फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको अवस्था छ । यसबाट नेपालले आशातित रूपमा लाभ लिन सक्छ ।

अहिले पनि नेपालबाट अमेरिकी आयातमा कार्पेट, फेल्ट उत्पादन, कुकुरको खाना, हस्तशिल्प, गहना र विभिन्न वस्त्र जाने गरेका छन् । त्यसै गरी अमेरिकी निर्यात वस्तुमा कृषि उत्पादन, विमानका पार्टपुर्जा, अप्टिकल र मेडिकल उपकरण र मेसिनरी पर्छन् । हाइट हाउसमा ट्रम्पको पुनरागमन भएको यो सुनौलो र ऐतिहासिक अवसरमा व्यापारको यो भोलुम बढाउन आजैदेखि गृहकार्य गर्नु आवश्यक छ । (गोरखापत्रमा प्रकाशीत लेख सान्दर्भिक लागेर साभार गरिएको)