उत्पादन नै समाजवादको आधार हाे

राम कुमार कार्की
ओेखलढुंगा

आफू जन्मेको ठाउँ सबैलाई प्राणभन्दा प्यारो लाग्छ । मानिस सपना-विपना सधैं आफू जन्मेकै ठाउँमा हुने गर्दछ । मानिसले सबभन्दा पहिले आफ्नो घरपरिवार सम्झन्छन् त्यसपछि क्रमशः टोल समाज हुँदै जिल्ला अनि देश सम्झन्छन् । आफ्नो घरपरिवार सुखि अनि समृद्ध पार्न मानिसले जस्तोसुकै दु:खकष्ट गर्न पनि तयार हुन्छ । जहाँसुकै पनि पुग्न तयार हुन्छ हुन त सुख र समृद्धिको कुनै सिमा हुँदैन तर पनि अत्यावश्यक वस्तुको सहजता त हुनै पर्यो। अत्यावस्यक वस्तु वा सेवाको अभाब नै गरीबी हो। मानिसहरु उत्पति कालदेखि नै आफुलाई आवश्यक पर्ने वस्तु र सेवाको खोजिमा एकठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने गरेका छन्। त्यसैले बसाइँ सर्नु रहर हुदैन, मानिसकाे बाध्यता हुन जान्छ ।

सकेसम्म टाढा टाढा  पुगेर पनि  पशुपंछी त साँझ आफ्नै गुँडमा फर्कने गर्छन् मानिस त झन नफर्कने  कुरै भएन जहाँ पुगेपनि केही समय पछाडि आफ्नै घरमा नै फर्कने गर्छन् तर जति मेहनत गरे पनि खासै आफ्ना समस्या समाधान हुने उपाय नदेखेपछि मात्रै बैकल्पिक स्थानको खोजि गर्दछन्। अहिले नेपालमा आफ्नो जन्मघर छोडेर, समाज छोडेर र देशै छोडेर हिँड्ने लाखौंको  संख्यामा छन् । देशभित्र नै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नुलाई सामान्यरूपमा लिईन्छ तर आज देशै छोडेर अर्को देशमा बसाइँ सराई बढिरहेको छ। देशका लागि यो सबैभन्दा दु:खदायी र अँध्यारो पक्ष हो। यसरी बसाइँसराइ गर्नु पर्दा बसाइँसर्ने पनि दु:खी हुने गर्दछन् भने त्यहि ठाउँमा बसिरहेका समाजका अन्य मानिसहरु पनि दु:खी हुने गर्दछन्।आफुसंग वर्षौ साथमा रहेका सामाजिक प्राणीहरु एक अर्कामा पर्दा को दु:खी हुदैन र ? प्रकृतिमा रहेका कुनै एउटा जीवको अन्त्य भयो भने त प्राकृतिक असन्तुलन कायम भइ पर्यावरण चक्रमा असर पर्न जान्छ भने मानिस जो सचेत सामाजिक प्राणी हो त्यसको कुनै एकठाउँमा कमि भए पछि वा अर्को नयाँ ठाउमा थपिएपछि अवश्य पनि असन्तुलन हुने नै छ। तत्कालीन रुपमा खासै फरक नदेखिएता पनि दिर्घकालिन रुपमा अवश्य पनि फरक पर्नेछ। त्यसैले मानिस कामको शिलशिलामा जहाँसुकै पुगेता पनि काम सम्पन पश्चात् आफ्नोे जन्मथलोमा फर्किएर आओस र उक्त  ठाउँको समाजलाई सभ्य र भब्य बनाओस् । आफू र आफ्नो परिवार मात्र होइन सिंगो समाज र देशलाई नै समृद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलोस् न कि समाजलाई समृद्धि बनाउने समय केबल दैनिक जीवन गुजारा चलाउने धन्दामा नै हिड्नु नपरोस् । अहिले जन्मघर जन्मथलो जन्मसमाज र देश भित्र जन्मेदेखि नमरुन्जेल सम्म बस्ने कुरा कोरा कल्पना जस्तो हुन थालेको छ। जन्मघर जन्मथलोको कुरा `मायाले संसार थेग्दैन´ भनेजस्तो भएको छ। विगतका पुर्खाहरु सधै यहीँ थिए त वा संधै एकै ठाउँमा बस्थे त भन्ने कुराहरु पनि आउन सक्छ ।

आदिमकाल ढुंगे युगदेखि अहिलेसम्म आउँदा सबै मानिसहरू एकैठाउँमा बसोबास गरिरहेका थिएनन् तर एक युग वा एक कालखण्डमा अवश्य पनि एकै ठाउँमा बसेका थिए र छन् सिमाबिहिन संसार हुँदासम्म जहाँ जान पनि छुट थियो, यतिमात्र हो कि जसको शक्ति थियो ऊ नयाँ ठाउँमा गएर स्थापित भैहाल्थ्यो जो अशक्त थियो ऊ पुरानै ठाउँमा जुनि काट्थ्यो तर अहिले त सिमा छ जान पनि त्यति सजिलो छैन  र गएपछि नयाँठाउँमा स्थापित हुन पनि त्यति सजिलो छैन ।सुचना संचार ,यातायात र प्रविधिको कारणले बिश्वलाई  नजिक बनाईदिएको छ र पनि भाषा, संस्कृति, समाज, ऐन- कानुन नियमले गर्दा अर्काको ठाउँमा रहन र सहजरूपमा जीवन विताउन त्यति सजिलो छैन । त्यसैले होला गाउँ छाडेर सहर गएका, पहाड छोडी मधेस गएका  र देश छोडी बिदेश गएकाहरु पनि बेलाबेलमा आफ्नो जन्मथलो फर्किएर आएको देखिन्छ। कोही केही दिनको लागि आएका हुन्छन् भने केही संधैको लागिआएका देखिन्छन्। अझ बुढाबुढी उमेर भएकाहरुक‍ो त झनै एकपटक जन्मथलो पुगेर मर्न पाए कस्तो हुन्थ्यो भन्ने गरेको पाईन्छ।

मनको ईच्छा पूरा गर्न टाढा टाढा पुगेकाहरु पनि अन्तिम ईच्छा स्वरुप आफ्नो जन्मघर र समाजमा फर्किएका छन्। यस्तो महत्त्वपूर्ण जन्मथलो वा जन्मेको समाजलाई कहिलै छोड्न नपर्ने कसरी बनाउने अहिले ठुलो चिन्ताको विषय बनेको छ।
मानिसहरुलाई एकैठाउँमा रहेर जीवन विताउन न्युनतम् पनि निम्न कुराहरूको आवश्यकता पर्दछ ।

१) बालबालिकालाई नर्सरी देखि हाईस्कुल सम्म पुरै नि:शुल्क र गुणस्तरीय शिक्षा हुनुपर्छ ,विश्वबिधालयको ब्यवस्था हुनुपर्दछ र विश्वविद्यालयमा छात्रवृत्तिको ब्यवस्था हुनुपर्दछ ।
२) सबै मानिसलाई उचित र ब्यवस्थित बासको ब्यवस्थापन हुनुपर्दछ।
३) जेष्ठ नागरिकहरु ५५ वर्ष कटेका पुरुष र ५० नाघेका महिलाहरूलाई मासिक भत्ताको ब्यवस्था हुनु पर्दछ।
४) सुविधा सम्पन्न हस्पिटलको ब्यवस्था र ओैषधी उपचार नि:शुल्क हुनुपर्दछ ।
५) नजिकै पायक पर्ने ठाउँमा बजार तथा सुपरमार्केटको ब्यवस्था हुनुपर्दछ।
६) मनोरञ्जनको लागि ईन्टरनेट, टेलिभिजन, फिल्म हल र पार्कहरु हुनुपर्दछ ।
७) बस्तीहरु एकीकृत हुनुपर्छ ।
८) खाना खाने होटल तथा रेष्टुरेन्टहरु गुणस्तरीय हुनुपर्छ।
९) घुमफिर तथा काममा जानका लागि यातायातको सुबिथा हुनुपर्छ हरेक बस्तीमा राम्रा सडकहरु हुनु पर्दछ।
१०) किसानलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पुर्वाधारहरु सरकारको तर्फबाट ब्यवस्थित गरिनुपर्छ ।
११) किसानहरुबाट उत्पादित वस्तुहरुको उचित मूल्य स्थानीय सरकारले तोक्नु पर्छ र मुल्य अनुगमन गर्नु पर्छ ।
१२) बजारमा उपलब्ध वस्तुहरुको मूल्य स्थानीय सरकारले तोक्नु पर्दछ र मुल्य अनुगमन गर्नुपर्छ ।
१३) मानिसलाई आवश्यक पर्ने खाध्यन्न देखि सबै वस्तुहरु सहजरूपमा पाईने ब्यवस्था हुनुपर्छ ।
१४) सफा र स्वच्छ खानेपानीको ब्यवस्था हुनुपर्छ।
१५) आधुनिक ग्यास वा विद्युतिय चुल्होहरुको ब्यवस्था हुनुपर्छ ।
१६) फोहोर मैलाको उचित ब्यवस्थापन हुनुपर्छ ।
१७) संचार सुविधा हुनुपर्छ ।
१८) मानिसका आफ्ना आस्था अनुरुपका धार्मिक तथा सांस्कृतिक स्थलहरु हुनपर्छ।
१९) अन्यठाउमा घुम्नजानको लागि उचित र कमखर्चिलो प्रवन्ध मिलाईदिनु पर्छ ।
२०) ठाउँ र उत्पादन अनुसारको उधोग कलकारखाना खोली रोजगारको प्रवन्ध मिलाउनु पर्दछ।
२१) कृषि ,उधोग ,व्यवसाय संचालन गर्न सहज र झन्झट मुक्त वातावरण निर्माण गरिनु पर्दछ ।
२२) मानिसहरुलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको ब्यवस्था मिलाउनु पर्छ ।
२३) राज्यको र स्थानीय नीति नियमको पुर्ण पालना गर्न लगाउनु पर्दछ।
२४) गलतलाई दण्ड र राम्रोलाई पुरस्कृत गर्ने न्याय प्रणाली लागू गर्नुपर्छ ।
२५) समावेशी समानताको सिद्धान्त लागु गर्नुपर्छ।
२६) जातीय र धार्मिक विभेदको अन्त्य गरिनु पर्छ।
२७) क्षमता अनुसारको काम र आवश्यकता अनुरुपको दाम/मामको ब्यवस्था हुनुपर्छ ।
२८) शारीरिक तन्दुरुस्तीको लागि योग ब्यायामशाला र युवाहरुलाई खेलकुदको ब्यवस्था हुनुपर्दछ ।

माथि उल्लेखित सम्पूर्ण कुराहरू अझ समयपरिस्थिति अनुसार अन्य थप सुविधाको पनि आवश्यकता पर्दछ तर यी सब ब्यवस्थापन कसले र कसरी गरिदिन्छ ? यसको स्रोत के हो ?कहिलेसम्म यी कुराहरु हरेक टोलहरुमा सम्भब होला ? यो बढो सोचनिय कुरा छ। यसको लागि केही नवीन कार्य राष्ट्रियस्तरबाट, केही प्रदेशस्तरबाट , केही स्थानियस्तरबाट र बाँकी टोल तथा ब्यक्तिबाट नै गरेर देखाउनु पर्नेछ । हामीले वा मैले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने भन्ने मुल मन्त्र लगाउनु पर्ने देखिन्छ । हजार माईलको यात्रा एक पाईलाबाट नै शुरु हुन्छ भने झै शुरु ब्यक्तिले नै गर्ने हो चाहे त्यो राज्य संचालको ठाउँमा रहेको ब्यक्ती होस् वा कुटो कोदालो संचालक होस् तर शुरु गर्नुपर्दछ । शुरु गरेपछि एक कान दुई कान मैदान भने जस्तै एक हात दुई हात हुँदै पुरै देशभरि कृषि क्रान्ति अनि ओैधोगिक क्रान्ति हुन आउँछ अनि न रोजगारको चिन्ता न आर्थिक समस्याको !

हामी नेपालीहरु कस्तुरीले आफ्नै शरिरमा भएको विणा खोज्दै भौतारिए जस्तै आफुसँग भएको जल, जमिन ,खनिज र जंगलको उपयोग नगरी देश विदेश भौतारिएर हिंडिरहेका छौ।
अहिले हरेक नेपाली युवाहरुले हरेस खाईसकेको अवस्था छ।`भाग्यमा भगवानले श्री लेखेका छैनन्´ भन्दै हिडिरहेका छन।रोग भोक र अभाबले पेट्रोल छर्किएर आत्मदाह गरिरहेका छन् कोही सपरिवार हत्या तथा आत्महत्या गरिरहेका छन। कोही झुण्डियर त कोही विष सेबन गरेर मरिरहेका छन्। गित नै बनाईसके युवाहरुले “जिन्दगी चल्न त चल्या छ पिरैपिरमा छ ….” केही मुठ्ठीभर शासक प्रशाशक, भ्रष्ट कर्मचारी दलाल उधोगपति , मेनपावर दलाली ठगहरुको मात्र जीवन आरामदायी र विलासितामा बितेको छ। बाँकीको जिन्दगी पिडा र अभाबमा गुज्रिएको छ।
लामो राजनैतिक क्रान्ति र आन्दोलनमा लाखौंको त्याग तपस्या वीरता र बलिदानबाट देशमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको छ। यो आफैंमा उत्कृष्ट ब्यवस्था हो तर नेपालमा निम्नपुँजीवादी अधैर्यताका कारण स्थिर सरकार बन्न सकेको छैन ।  ब्यवस्था उन्नत भएता पनि बिधिमा धेरै त्रुटीहरु रहेका छन् । ती त्रुटीहरु पनि सच्याउनु र सुधार्नुपर्ने आवश्यकता छ।नेपालको संबिधान समाजवाद उन्मुख छ भनिएको छ।संबिधानमा नै उक्त कुरा उल्लेख्य गरिएको छ। नेताहरु मुख्यतः कम्युनिस्ट नेताहरु समाजवादको आधार तयार गर्ने भनिरहेका छन्। कतिपय कम्युनिस्ट पार्टीहरुले आफ्नो दलको नाम नै समाजवादी राखेका छन् तर जो सँग धन नै छैन विचरा उसैको नाम धन बहादुर भने जस्तो भैरहेको छ। पार्टीको नाम समाजवादी राख्दैमा र समाजवादको आधार तयार गर्ने भन्दैमा समाजवादको आधार तयार हुने भए त समाजवाद उहिल‌ै स्थापना भईसक्थ्यो होला। समाजवाद स्थापनाको लागि आधार एवम् उपरिसंरचना त्यसै अनुरुप जानू पर्दछ त्यसको लागि समाजवादी अर्थ प्रणालीको शुरुआत गर्नु पर्दछ । त्यस‌ैगरि समाजवादी धार्मिक, सामुदायिक सबै कुरा समाजवाद उन्मुख बनाउँदै लैजानु पर्दछ । उक्त कुराको सबभन्दा पहिला राष्ट्रिय नीति बन्नु पर्दछ र त्यसको कार्यन्वयन टोल-टोलबाट शुरु गर्नु पर्दछ । अनि बल्ल समाजवादको आधार तयार हुन पुग्दछ।हाम्रोजस्तो मुलुकमा जहाँ अराजक संसदिय ब्यवस्था छ त्यहाँ त्यति सजिलोसँग समाजवाद स्थापना हुन सक्दैन किनकि पुँजीवादीहरुकै वरिपरि शासन सत्ता घुमिरहन्छ त्यसैले समाजवादको चाहना गर्ने हामी मजदुर किसान र स्वरोजगार ब्यक्तिहरुले न‌ै समाजवादको आधार तयार गर्न पट्टी लाग्नुपर्छ।अब हामीले हाम्रो टोल, गाउँ संसारको सबैभन्दा राम्रो र अब्बल बनाउँछु भनेर संकल्प गरेर अगाडि बढ्नु पर्ने अवस्था छ । कसैले न कसैले पहलकदमी नलिने हो भने त्यो संभव हुंदैन आफ्नो टोल गाउँबाट नै समाजवादको आधार तयार गर्न लागि परौ त्यसको लागि सबभन्दा पहिले टोल र गाउँबासीहरु नै एकजुट होओैं। राजनीतिक, बैचारिक, धार्मिक र सांस्कृतिक रुपमा जो जहाँसुकै भएतापनि उत्पादन र वितरणको लागि एकताबद्ध होओैं । उत्पादन र आम्दानीको लागि टोल -टोल मा योजना बनाओैं । खल्ती टक्टकाउँ र संगठित प्रकारले काम गर्न शुरू गरौं, साथै स्थानीयदेखि केन्द्रीय सरकार समक्ष ढोका ढकढक्याउ त्यतिले नपुगे सडक संघर्ष समेत गरौ।
देशमा सयौं राजनीति दलहरस गठन भएका छन् किसानका हकहितका कुराहरु गरिरहेका छन् तर कुनै पनि समस्याको समाधानका लागि पहल गरिरहेका छैनन् । सस्तो लोकप्रियताका नाराहरु लगाउछन् अनि सत्तामा पुग्ने भर्याङ बनाईरहेका छन्। देशको ओैधोगिक क्षेत्र , पर्यटकिय क्षेत्र सबैतिर समस्या  नै समस्या छन् कुनै पनि काम गर्न अबरोध नै अबरोधहरु आईरहन्छन् यी समस्याको बारेमा कुनै पनि ब्यापारिक ओैधोगिक  र मजदुर संगठनहरु पहल गर्दैनन् । सबै दलगत र सत्तामुलक स्वार्थमा चुर्लुम डुबेका छन्। केही नेतागिरी गर्नेहरु आज नकमाए कहिले कमाउने म‌ैले नकमाए कसले कमाउने  भन्ने मन्त्रमा केन्द्रित रहेका छन्। असल राष्ट्रसेवक बन्ने सोच बोकेको मानिस भेट्नै मुस्किल देखिन्छ ।विचरा केही -केहीमा त्यो भावना देखिएता पनि पुँजीवादी समाजमा उसलाई विभिन्न खालको अवरोधहरुले घेरेर अन्ततः निरास भएर घोत्लिनुको बिकल्प नै छैन ।

अहिले आम नेपालीले लिने साझा चिन्ता र चासोको विषय नै रोजगार हो। देशका युवाहरुलाई जवसम्म देशमा नै रोजगार श्रृजना गर्न सकिंदैन तबसम्म देश विकास हुन असम्भव छ।देशमा रोजगार श्रृजना गर्न सरकारको दायित्व हो तर सरकारले गरेन भनेर चुपलागेर बस्नु हाम्रो पनि अपराध हो अब हामीले देशमा रोजगार श्रृजना गर्न घरघरबाट पहलकदमी लिनु पर्दछ ।अब हामीले एउटा संकल्प गरौँ- म आफ्नै एउटा काम गर्नेछु कम्तीमा म एकजनालाई भएपनि रोजगार प्रदान गर्नेछु। एकजनाले एक लाई रोजगार प्रदान गर्दापनि देशको बेरोजगार समस्या स्वतः समाधान हुनेछ। समाजवादी ब्यवस्थाले मात्रै आम नेपालीको कल्याण गर्न सक्छ । समाजवादी सिद्धान्त अगाध गहन मुर्त रुप हो र यथार्तताको प्रचुर तथा ब्यवहारिक कार्यन्वयन हो । समाजवाद के हो ? यो विषयमा धेरै पहिलेदेखि नै विवाद छ। पुँजीवादी विचारक र पश्चगामी विचारकहरुले समेत वेलाबखत समाजवादको नारा बोकेर हिड्ने गरेका छन्। समाजवादको खोल ओड्दैमा, समाजवाद प्रिन्ट गरेको लत्ताकपडा लगाउदैमा मानिस वा समूह समाजवादी बन्दैन त्यसको लागि त समाजवादी कार्यशैली कार्यदिशा र कार्यन्यनको आवश्यकता पर्दछ । विकास एउटा निरपेक्ष सिद्धान् हो । गरिवीको उन्मुलन अत्यावश्यक वस्तुहरुक‍ो पूर्ति र उपभोग सापेक्ष हो । हामीले हजारौं वर्ष पुरानो आध्यात्मिक र भौतिक विपन्नताबाट भौतिक प्रचुरता, आध्यात्मिक बैभब र शारीरिक स्वस्थतातर्फ देशका आम जनतालाई डोर्‍याउनै पर्दछ त्यसको लागि आ-आफ्नो ठाउँबाट संभावनाको खोजी र उत्पादनमा जोड लगाउनु पर्दछ । जब सम्म अर्काको काम गरी सजिलोसँग दैनिकी चलाउने स‍ोचमा हामी रहन्छौ तबसम्म देशमा उत्पादन बढ्ने र रोजगार प्राप्त हुने हुदैन ।
देशमा लामो संघर्षपश्चात् ब्यवस्था वदलिएको छ तर अवस्था वदलिएको छैन । भलै हामी नेपालीको पूर्ण चाहना अनुसारको ब्यवस्था अझै आएको छैन तर पनि समावेशी र समानुपातिक लोकतान्त्रिक संघिय गणतन्त्र आएको छ। अब हामीले “हाम्रो धर्ती समाजवादी हाम्रो आकाश गणतन्त्र, कृषि उधोग पर्यटन हाम्रो मुल मन्त्र” भनी नारा घन्काउनु पर्दछ र त्यसैअनुरूप पाईला चाल्नु पर्दछ । त्यसैगरी हामीले उपयोगितावाद र आर्थिक बिकासका कार्यहरुका सुरुवात गर्नुपर्दछ । त्यसका लागि हरेक क्षेत्रमा आधुनिकरणको खाँचो छ । आधुनिकता आफ्नो देशको भुगोलको ब्यवहारिक दृष्टिकोण र धर्यतापुर्वक कार्यको शुरुआत गरि नयाँ उत्पादन कार्यशैली अपनाउनु पर्दछ ।
केही मुठ्ठीभर पुँजिपतिहरुमा केन्द्रित रहेको आन्तरिक अर्थतन्त्र प्रत्येक घरका ढोका ढोकामा पुर्याउनुपर्दछ । एकघर एक उत्पादनमा जोड गर्नु पर्दछ , एक गाउँ एक विशेष उत्पादन क्षेत्रको क्षेत्रको रुपमा विकास गर्नु पर्दछ । वार्ड,गाउँ /नगर पालिकालाई उत्पादनकेन्द्रित बजेट बिनीयोजन गराउन जोड गराउनुपर्दछ । प्रदेश तथा केन्द्रीय सरकारलाई उत्पादन केन्द्रित प्रादेशिक तथा राष्ट्रिय योजना बनाउन दवाब दिनु पर्दछ । अहिले युवाहरु र मानिसहरु विदेशिएको देख्दा लाग्दछ चाँडै नै पुरै नेपाल मानवबिहिन हुदैछ। बनजंगल र जंगली जनावर मात्र रहनेछन् तर त्यस्तो यहाँ मात्र होइन अविकसित र गरिबी मुलुकहरुमा जहाँपनि यस्तै वातावरण र अवस्था हुन्छ । आज दिनानुदिन आर्थिक प्रगतिमा लम्किरहेका भनिएका चिन, कोरिया र युरोपेली मुलुकहरुमा पनि आजभन्दा २५/३० वर्ष अगाडिसम्म पनि विदेसिएर श्रमगरि जिबिकोपार्जन गर्ने गरेको त्यहाको विगतको ईतिहास अध्ययनबाट थाहापाईन्छ। जब ती मुलुकहरुले गरिबी निवारण सम्बन्धि नीति निर्माण गरी कार्यनयनमा ल्याए र उत्पादनमा जोड गर्यो,  विदेशिएका युवाहरु र अन्य मानिसहरु स्वदेश फर्किए अनि उत्पादन, व्यापार र उधोगधन्दामा लागे आज ती मुलुकहरुमा बेरोजगार र गरीबी समस्या समस्या छैन उल्टै हाम्रो जस्तो अविकसित मुलकका श्रमशक्ति खरिद गरिरहेका छन् । आज ती मुलुकहरू धनी मुलुकारुपमा गणना भईरहेका छन् । हाम्रो देशले पनि गरिबी निवारण सम्बन्धि ठोस नीति बनाएर उत्पादनमा जोड गर्ने हो भने युवाहरु र मानिसहरु स्वदेशमा नफर्किने भन्ने कुरै हुदैन। गरिबी निवारण सम्बन्धि विभिन्न  सामाजिक संस्था र लघुवित्तलाई पैसा बाडेर चल्ला र पाडो पाडा वितरण गरेर उत्पादन बढ्दैन उल्टो मानिसहरू अल्छी र परनिर्भर बन्छन् भन्ने कुरा केही वर्षदेखि सुधारवादी सरकारहरुले गरेका प्रयासबाट स्पष्ट भैसकेको छ। त्यसैले गरिबी निवारण सम्बन्धि ठोस नीति र कडा कार्यनयन आवश्यकता पर्दछ । यति कुरा हो कि क्षमता अनुसारको काम, आवश्कता अनुसारको दाम र भविष्यको सम्पूर्ण समस्याको समाधानको सुनिश्चितता राज्यले गर्नु पर्यो। यिनै कुराहरु नदेखेर नै मानिसहरु अराजक भएका हुन त्यसैगरी विदेशिएका र बसाइँ  हिडेका त हुन्। यसका लागि अब हामी सबै नेपालीले आ-आफ्नो ठाउँबाट आत्मनिर्भर भई स्वदेशमै काम गर्ने शुरुआत पनि गरौं । राज्यका सबै निकायलाई उत्पादन र वितरण प्रणालीलाई ब्यवस्थित बनाउन दबाब दिओैं । केवल अर्काको बिकसित मुलुकको प्रगति देखेर आफ्नो देशलाई, आफ्नो ठाउँलाई वा ब्यवस्थालाई दोष दिंदै अन्यत्र पलायन हुने कुरा नगरौं ।अर्काको मुलुकमा केही दिन बसेर फर्किदा एयरपोर्टदेखि नै मातृभुमिलाई सराप्नुको सट्टा त्यो मुलुकको विगतको अवस्था र तिनले आफ्नो मुलुक बनाउन गरेका दु:ख कष्ट पनि अध्ययन गरौं । अनि हामीले पनि मेरो ठाउँ म संसारको सुन्दर र धनी बनाउँछु भनी संकल्प गरौं । हाम्रै जुनिमा हामीले पनि ती मुलुक भन्दा  धनी र राम्रो बनाउन सक्छौं, त्यो कुरामा कुनै दुईमत छैन। नीति र ब्यवस्था आवश्यकता अनुसार हामीले बनाउने हो नेतृत्व वा नेता वर्तमान समस्याको समाधान गर्न जसले पहलकदमी लिन्छ र अगुवाइ गर्छ उहीँ बन्ने हो । समस्याको सहि पहिचान गर्नसक्ने  र वर्तमानको समस्या समाधान गर्न सक्ने विचार दर्शन बोकेर अगाडि लाग्ने जो कोही ब्यक्ति नेता बन्ने हो त्यो तपाईं हामी भित्रै छ र संघर्षको मैदानबाट निस्किनेछ त्यसैले अहिले भईरहेका नेताहरूलाई सरापेर समय खेर फाल्नुको कुनै अर्थ छैन।

मुल कुरा लक्ष्य हो, आज मुलुकमा हामी सबैको लक्ष्य भनेको नेपाल र नेपालीको समृद्धि र विकास हो त्यसका लागि आन्तरिक स्रोत र साधनको भरपुर उपयोग गरि उत्पादनमा जोड गर्नु पर्दछ। यहि न‌ै बेरोजगारी समस्याको समाधान, समृद्धि र विकासको शुरुआत अनि समाजवादी ब्यवस्थाको आधार हो। यहि नै शान्ति र स्थायित्वको द्याेतक पनि हो। अन्यथा समृद्धि र विकासका साथै समाजवादी कल्पना कोरा कल्पना मात्रै सावित हुनेछ।

(लेखक राजनीति र समाजशास्त्रको अनुसन्धानकर्ता हुन् , साथै  नेकपा माओवादी केन्द्रका ओखलढुंगा जिल्ला संयाेजक रहेका छन् ।)